कञ्चनपुर, २४ सेप्टेम्बर २०२५–कुनै समय जङ्गलमा घुमन्ते जीवन बिताउने राउटे समुदायका सदस्यहरू अहिले बस्तीमा बस्दै अन्य नागरिकसरह क्रियाकलापमा सहभागी हुन थालेका छन्। तर, परम्परागत सीपअनुसारको रोजगारी नपाउँदा उनीहरूको दैनिकी कठिन बन्दै गएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–९, टुँडिखेलमा बसोबास गर्ने तीन परिवारका राउटेहरूले सरकारको भत्तामा मात्र निर्भर हुनुपरेको गुनासो गरेका छन्।राउटे समुदाय परम्परागत रूपमा जङ्गलमा बस्दै काठबाट भाँडाकुँडा तथा अन्य सामग्री बनाएर अन्नसँग साटेर गुजारा गर्ने गर्दथे। दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेलसम्म बसाइँ सरेका यी समुदायका सदस्यहरूलाई सरकारले जङ्गलबाट बस्तीमा ल्याएर स्थायी बसोबासको व्यवस्था गरेको छ।टुँडिखेलका बडसिंह राउटेले भने, “सरकारले हामीलाई जङ्गलबाट बस्तीमा ल्यायो, मासिक रूपमा भत्ता दिने गरेको छ। मेरो सीपअनुसार काम नपाएपछि सरकारले दिने भत्तामा बाँच्नुपरेको छ।” जङ्गलमा काठ ल्याएर सामग्री बनाउने उनीहरूको पुरानो पेसा बस्तीमा प्रतिबन्धित हुँदा उनीहरू मजदुरी वा अन्य विकल्प खोज्न बाध्य छन्। बडसिंहका अनुसार, “हाम्रा छोराछोरी पढेलेखेका छैनन्। सरकारले रोजगारीको व्यवस्था गरिदिनुपर्थ्यो। तीन महिनामा रु चार हजारको भत्ता त्यसले मात्र खाना लाउन पुग्दैन।”समाजमा घुलमिल भए पनि रोजगारीको संकटले राउटे परिवारहरूलाई पीडा दिइरहेको छ। किरीदेवी राउटेले भनिन्, “हामी समाजमा अन्य नागरिक सरह जीवन निर्वाह गरिरहेका छौँ तर रोजगारी नहुँदा समस्या भएको छ। भत्ताले दैनिकी चलाउन सकस परेपछि छोरा रोजगारीका लागि भारत गएको छ।” उनी जङ्गली जीवनभन्दा बस्तीमा बस्नु राम्रो लाग्ने बताउँछिन् तर आयआर्जनको अवसर नहुँदा निराश छन्। “सरकारले हामीलाई आयआर्जन हुने कुरामा जोडिदिएको भए राम्रो हुन्थ्यो।”
अनिता राउटेले पनि पुरानो सीपले गुजारा गर्न गाह्रो भएको बताइन्। “हाम्रो पुर्खाको जस्तो सीपले यहाँ गुजारा गर्न गाह्रो छ। गाउँघरमा पाइयो भने मजदुरीमा जाने गरेका छौँ। अहिलेको समय सुहाउँदो सीप सिकाएर सरकारले हामीलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ।”पछिल्लो समय राउटेहरू समुदायका चाडपर्व तथा क्रियाकलापमा सक्रिय सहभागी बनेका छन्। यसले उनीहरूको सामाजिक एकीकरणलाई मजबुत बनाएको छ। तर, करिब पाँच लाख जनसङ्ख्या भएको कञ्चनपुरमा मात्र तीन परिवार रहेको यो लोपोन्मुख समुदायको संरक्षण चुनौतीपूर्ण छ। सरकारले मासिक भत्ता र स्वास्थ्य सुविधा उपलब्ध गराए पनि सीपमूलक तालिम तथा रोजगारीका अवसरहरूको अभावले उनीहरूको आत्मनिर्भरता कायम राख्न कठिनाइ भएको छ।राउटेहरूको यो फेरिँदो जीवनशैलीले नेपालका आदिवासी समुदायहरूको संरक्षण र एकीकरणको आवश्यकतालाई उजागर गर्छ। सरकार र स्थानीय निकायले उनीहरूको परम्परागत सीपलाई आधुनिक बजारसँग जोडेर रोजगारी सिर्जना गर्न सके यो समुदाय पूर्ण रूपमा आत्मनिर्भर बन्न सक्छ।