काठमाडौँ । इस्तानबुलबाट काठमाडौँ आउँदै गरेको टर्किस एयरलाइन्सको विमान अवतरणको क्रममा एप्रोच नमिल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट भएको छ। विमानस्थल स्रोतका अनुसार अवतरण बिन्दुमा पुगिसकेपछि एप्रोच स्थिर हुन नसकेपछि पाइलटले सुरक्षा मापदण्डअनुसार पुनः अवतरणको तयारीका लागि विमानलाई आकाशतर्फ उडाएका हुन्। केही समय आकाशमै होल्ड गरेपछि परिस्थितिको मूल्यांकन गर्दै पुनः एप्रोचको प्रयास गरिएको बताइएको छ। विमानमा सवार यात्रु तथा चालकदल सबै सुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको छ। विमानस्थल प्रशासनका अनुसार यस्तो अवस्था सामान्य उड्डयन प्रक्रियाभित्र पर्ने भएकाले यात्रुहरूको सुरक्षामा कुनै जोखिम नपरेको स्पष्ट गरिएको छ।