• Tuesday, March 3, 2026

सिंगापुर एयर शोमा चिनियाँ कोम्याकको उदय : एशिया–प्रशान्तमा बोइङ–एयरबसलाई चुनौती


सिंगापुर एयर शोमा व्यावसायिक विमान, अत्याधुनिक उड्डयन प्रविधि, स्केल मोडेल, मोक ककपिट र अन्तरक्रियात्मक प्रदर्शनीहरूले दर्शकको ध्यान तानेका छन् । तर तीमध्ये सबैभन्दा बढी चासो खिच्ने स्टल चीनको सरकारी स्वामित्वमा रहेको विमान निर्माता कम्पनी कोम्याकको देखिएको छ । दुई वर्षअघि आफ्नो कोम्याक919 यात्रुवाहक विमान पहिलोपटक चिनियाँ भूभाग बाहिर उडाएर सिंगापुर ल्याएयता कोम्याकले उल्लेखनीय प्रगति गरेको मानिन्छ ।कोम्याक919 विमानलाई एयरबस A320neo र बोइङ 737 MAX सँग प्रतिस्पर्धा गर्ने उद्देश्यले विकास गरिएको हो । हालसम्म कोम्याक मुख्यत: चिनियाँ बजारमै केन्द्रित रहे पनि अब उसले एशिया–प्रशान्त क्षेत्रका अन्य मुलुकहरूलाई लक्ष्य बनाउन थालेको छ । विश्वकै तीव्र गतिमा बढिरहेको उड्डयन बजार मानिने एशिया–प्रशान्त क्षेत्रमा एयरलाइन्सहरू विमान आपूर्ति ढिलाइ र आपूर्ति शृंखलाको समस्याले जुझिरहेका बेला कोम्याकले आफूलाई वैकल्पिक निर्माताको रूपमा प्रस्तुत गर्ने अवसर खोजिरहेको छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात संघका महानिर्देशक विली वाल्शका अनुसार कोम्याक भविष्यमा विश्वव्यापी प्रतिस्पर्धी बन्न सक्ने सम्भावना बोकेको कम्पनी हो, यद्यपि त्यसका लागि समय लाग्नेछ । बीबीसीसँग कुरा गर्दै उनले भने, “१०–१५ वर्षपछि हामी बोइङ, एयरबस र कोम्याकलाई सँगसँगै छलफल गरिरहेका हुनेछौँ । भविष्यमा कोम्याक निश्चित रूपमा एक महत्वपूर्ण खेलाडी बन्नेछ ।”विश्लेषकहरूका अनुसार एशिया–प्रशान्त क्षेत्रमा नयाँ विमान निर्माता आवश्यक भइसकेको छ । बोइङ र एयरबसमा देखिएको डेलिभरी ढिलाइ, इन्जिनको अभाव र आपूर्ति शृंखलाको अवरोधले यस क्षेत्रका एयरलाइन्सहरू दबाबमा छन् । अन्तर्राष्ट्रिय हवाई यातायात संघ को तथ्यांकअनुसार विश्वभरका एयरलाइन्सले नयाँ विमान पाउन पहिलेभन्दा धेरै समय कुर्नुपरेको छ, जसका कारण विमानहरूको औसत आयु बढेको र इन्धन खर्चसमेत बढेको छ ।विली वाल्शका अनुसार यदि पर्याप्त विमान उपलब्ध हुने हो भने २०२६ मा एशिया–प्रशान्त क्षेत्रका एयरलाइन्सले दोहोरो अंकको वृद्धिदर हासिल गर्न सक्ने थिए । तर अहिले अर्डर गरेदेखि विमान प्राप्त गर्न झन्डै सात वर्ष लाग्ने अवस्था रहेको उनले बताए । यही कारण कोम्याक धेरै एयरलाइन्सका लागि नयाँ विकल्पका रूपमा देखिन थालेको छ ।

हाल चीनभित्र १५० भन्दा बढी कोम्याकका विमान सेवा सञ्चालनमा छन् । साथै लाओस, इन्डोनेसिया र भियतनाममा पनि यसको विमान उडानमा छन् । ब्रुनाईको ग्यालपएयरले ठूलो संख्यामा कोम्याकका विमान अर्डर गरिसकेको छ भने कम्बोडियाले करिब २० वटा विमान खरिद गर्ने योजना बनाएको छ ।एशिया प्यासिफिक एयरलाइन्स संघका महानिर्देशक सुभाष मेननका अनुसार उड्डयन उद्योगमा आपूर्ति शृंखला अत्यन्त सीमित छ । “यो उद्योग प्रायः दुई कम्पनीको नियन्त्रणमा छ । हामीलाई थप आपूर्तिकर्ता आवश्यक छ, कोम्याकको आगमन स्वागतयोग्य छ,” उनले भने ।सरकारी समर्थन बलियो हुनु र तुलनात्मक रूपमा कम मूल्य हुनु कोम्याकका मुख्य फाइदा मानिन्छन् । यसले विकासोन्मुख मुलुकका बजेट एयरलाइन्सलाई आकर्षित गर्न सक्छ । फिलिपिन्सको कम लागतको एयरलाइन्स सेबु प्यासिफिकका प्रमुख कार्यकारी माइक स्जुक्सका अनुसार कोम्याकले आवश्यक प्रमाणिकरण प्रक्रिया पूरा गरेपछि २०३० को दशकमा यो कम्पनीका विमान आकर्षक विकल्प बन्न सक्नेछन् ।

एशिया–प्रशान्तबाहेक कोम्याक युरोपेली प्रमाणिकरणको प्रयासमा पनि जुटेको छ । युरोपेली नियामक निकायहरूले कोम्याक919 का परीक्षण उडान गरिरहेका छन् । तर यो प्रक्रिया २०२८ वा २०३१ सम्म लम्बिन सक्ने अनुमान गरिएको छ । चिनियाँ र पश्चिमी प्रविधिको संयोजन, सफ्टवेयर, उडान नियन्त्रण प्रणाली, मर्मत–सम्भार संरचना र पाइलट तालिमजस्ता पक्ष कोम्याकका लागि चुनौतीका रूपमा देखिएका छन् ।यस क्षेत्रको प्रतिस्पर्धा बोइङ र एयरबसमा मात्र सीमित छैन । ब्राजिलको एम्ब्राएरले पनि सिंगापुरको स्कुट, भर्जिन अस्ट्रेलिया र जापानको एएनएजस्ता एयरलाइन्समार्फत एशिया–प्रशान्त क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाइसकेको छ । यद्यपि बोइङ र एयरबसले भने विमान आपूर्ति ढिलाइ क्रमशः सुधार हुँदै गएको संकेत दिएका छन् ।

कोम्याकले कोम्याक919 का लागि चिनियाँ एयरलाइन्सबाट एक हजारभन्दा बढी अर्डर पाएको दाबी गरे पनि हालसम्म सीमित संख्यामा मात्र विमान डेलिभर भएका छन् । कम्पनी सरकारी स्वामित्वमा रहेकाले अर्डर संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन भएको विश्लेषकहरू बताउँछन् ।यी सबै चुनौती समाधान गर्न नसकेसम्म एशिया–प्रशान्त क्षेत्रको आकाशमा बोइङ र एयरबसकै वर्चस्व कायम रहने सम्भावना रहेको उड्डयन विज्ञहरूको निष्कर्ष छ ।

Please Login to comment in the post!

you may also like