काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज केहीबेरअघि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ ।
यसअघि राष्ट्रिय सभाका १८ सिटका लागि प्रमुख राजनीतिक दलहरूबीच मिलेर चुनाव लड्ने सहमति भएको थियो । आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग भएको छलफल तथा दलहरूबीच भएको सिट बाँडफाँडको अवस्थाबारे सचिवालयलाई जानकारी गराउने बुझिएको छ ।
त्यस्तै, बैठकमा प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस तथा उम्मेदवारी सिफारिसका क्रममा केही निर्वाचन क्षेत्रमा देखिएका विवादको समाधानबारे पनि छलफल अघि बढ्ने बताइएको छ । पार्टीभित्र देखिएका आन्तरिक असमझदारीलाई मिलाउँदै आगामी निर्वाचनलाई लक्षित गरेर रणनीति तय गर्ने विषयमा समेत बैठक केन्द्रित रहने जनाइएको छ ।