काठमाडौं-बालाचतुर्दशीको मुख्य दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिर क्षेत्र शतबीज छर्ने भक्तजनको बाक्लो भीडले भरिएको छ। अघिल्लो रात (मार्ग शुक्ल त्रयोदशी) दिवंगत पितृको नाममा बत्ती बालेर रातभर जाग्राम बसेका सहभागीहरूले चतुर्दशीको बिहान पितृको सद्गति र मोक्षको कामना गर्दै शतबीज छरेका हुन्।नेपाली हिन्दू परम्परा अनुसार शतबीजमा धान, जौ, गहुँ, तिल, चना, मकै र कागुनो गरी सात प्रकारका अन्न मिसाइएको हुन्छ। भक्तजनहरूले यी सात अन्न मिसाएर बनाएको शतबीज पशुपति क्षेत्रका विभिन्न पवित्र स्थलहरूमा छर्ने गर्छन्।
शतबीज छरिने मुख्य ठाउँहरू एक सय आठ शिवलिङ्ग,कैलाश डाँडा,सूर्यघाट, गौरीघाट, आर्यघाट,गुह्येश्वरी पीठ,मृगस्थली,विश्वरूप मन्दिर,किराँतेश्वर लगायतका ठाउँमा भक्तजनहरूको लाम लागेको छ।बालाचतुर्दशी पर्व काठमाडौं उपत्यकाका साथै देशैभरि मनाइने पितृप्रति समर्पित एउटा ठूलो पर्व हो। यो पर्वमा रातभर जाग्राम बस्ने, अखण्ड दीप बाल्ने र बिहान शतबीज छर्ने परम्पराले पितृलाई स्वर्ग प्राप्तिको कामना गरिन्छ भन्ने धार्मिक विश्वास छ।
आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लागेकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थालाई पनि कडा बनाइएको प्रहरीले जनाएको छ।