काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले वर्तमान सरकारलाई कडा प्रहार गरेका छन्।बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले गठबन्धनलाई दलाल र बिचौलियाले बनाएको सरकार भन्दै भ्रष्टाचारविरुद्ध यो सरकारले केही पनि गर्न नसक्ने दाबी गरे।प्रचण्डले भने : "यो सरकार नेताहरूले होइन, बिचौलिया र दलालहरूले होटल र घरमै लगेर बनाइदिएको हो। त्यसैले यसले भ्रष्टाचार, बेथिति र अराजकताविरुद्ध केही गर्न सक्दैन।"उनले अझै आरोप लगाउँदै भने राम्रो काम गर्ने मान्छेहरूलाई सरकारले योजनाबद्ध रूपमा हटाइरहेको छ। "कुलमान घिसिङलाई हटाइयो, उपसभामुख इन्दिरा रानालाई हटाउने अभियान चलाउँने , कान्छा रामलाई हटाइयो। छानीछानी जनजाति र राम्रो काम गर्ने मान्छे हटाउने, अनि दलाल–बिचौलियाका मान्छे भर्ती गर्ने काम अहिले भइरहेको छ," प्रचण्डले कटाक्ष गरेका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले आफूलाई समेत भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सत्ताबाट हटाइएकै कुरा दोहोर्याए।साथै उनले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली अबको विकल्प भएको बताए।