• Thursday, October 16, 2025

मदन पुरस्कार गुठीले २०८१ का लागि जगदम्बाश्री र मदन पुरस्कार प्रदान


काठमाडौं – मदन पुरस्कार गुठीले २०८१ सालका लागि जगदम्बाश्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ। ललितपुरको पाटनस्थित कमलमणि थिएटरमा आयोजित विशेष कार्यक्रममा नेपाली लोकभाकाका संकलक तथा संरक्षक प्रेमदेव गिरीलाई जगदम्बाश्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरियो।

दुवै सम्मानित तथा पुरस्कृत स्रष्टालाई सम्मानपत्रसहित जनही चार लाख रुपैयाँ नगद प्रदान गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा संस्कृतिविद् प्रा.डा. वीणा पौड्यालले ‘कला, प्रतिमा र संरक्षण’ शीर्षकमा विद्वत् प्रवचन दिएकी थिइन्। उनले पुरातत्त्वले मानव इतिहासको विगतलाई प्रमाणसहित उजागर गर्ने भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको जोड दिइन्।

पुरस्कार प्राप्त गरेपछि ‘उरमाल’ का लेखक काविमोले आफ्ना भनाइ राख्दै प्रेम र साहित्यबीच कुनै सीमा नहुने बताए। “साहित्यले सधैं वञ्चित, शोषित र मानवीय विषयहरूसँग जोडिन्छ। म त्यही मानिसभित्रको मानवतालाई जोगाइराख्न लेखनमा प्रेरित हुन्छु,” उनले भने। भारतीय मूलका साहित्यकार काविमोले आफ्नो कृतिमार्फत मानवीय संवेदनालाई जीवन्त बनाउने प्रयास गरेको उल्लेख गरे।

यस्तै, जगदम्बाश्री सम्मान प्राप्त गिरीले आफ्नो रंगमञ्चीय यात्रा २०२५ सालबाट सुरु भएको स्मरण गर्दै २०४३ देखि २०४५ सालसम्म रेडियो नेपालमा मादलको ताल बजाउँदै कर्णाली–भेरी क्षेत्रका दुर्गम गाउँहरूबाट लोकगीत र लोकभाका संकलन गरेको अनुभव सुनाए। उनले नेपाली लोकसंस्कृतिको संरक्षणमा आफूले पु¥याएको योगदानलाई सम्मानको रूपमा लिएको बताए।

मदन पुरस्कार गुठीले हरेक वर्ष नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिनेलाई यी पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्षको कार्यक्रमले साहित्य र संस्कृतिको संरक्षणमा नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ छ।

Please Login to comment in the post!

you may also like