बेइजिङ — चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष जनरल झाङ योक्सियामाथि सुरु भएको छानविनले चिनियाँ सेनाभित्र गम्भीर संकट उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।गत शनिबार चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनरल झाङ योक्सिया र आयोगका अर्का सदस्य जनरल लिऊ झेन्लीमाथि छानविन भइरहेको पुष्टि गरेको थियो। यससँगै सात सदस्यीय केन्द्रीय सैन्य आयोगमा अब अध्यक्ष राष्ट्रपति सी जिनफिङ र सदस्य झाङ सिङमिन मात्र सक्रिय रूपमा बाँकी रहेका छन्।
विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सीपछि दोस्रो वरियतामा रहेका झाङ योक्सियामाथि अनुशासन र कानुन उल्लंघनसम्बन्धी गम्भीर आरोप लागेको छ। यो छानविन राष्ट्रपति सी जिनफिङले सन् २०१२ मा सत्ता सम्हालेपछि सुरु गरेको व्यापक भ्रष्टाचारविरोधी अभियानकै हिस्सा भएको बताइएको छ। उक्त अभियानअन्तर्गत हालसम्म दुई लाखभन्दा बढी चिनियाँ अधिकारी कारबाहीमा परिसकेका छन्।यसअघि पनि कम्युनिस्ट पार्टीले गत अक्टोबरमा केन्द्रीय सैन्य आयोगका अर्का उपाध्यक्ष विदोङलाई निलम्बन गरेको थियो। त्यसैगरी, सन् २०२४ मा आयोगका सदस्य तथा तत्कालीन रक्षामन्त्री लि साङफु र वरिष्ठ सैन्य अधिकारी मियो हुवालाई भ्रष्टाचार आरोपमा निलम्बन गरिएको थियो।
केन्द्रीय सैन्य आयोग चीनका लाखौं सैनिकमाथि नियन्त्रण गर्ने सर्वोच्च निकाय भएकाले यसलाई अत्यन्त शक्तिशाली संरचना मानिन्छ। इतिहासमा सन् १९८० को दशकमा देङ सियाओपिङ औपचारिक रूपमा यस आयोगको अध्यक्ष मात्र थिए, तर राष्ट्रपति तथा अन्य शीर्ष नेताहरू पनि व्यवहारमा उनको निर्देशनअनुसार चल्ने गर्थे।अमेरिकी सञ्चारमाध्यम द वासिङटन पोस्ट ले विभिन्न स्रोतहरूको हवाला दिँदै जनरल झाङमाथि चीनको आणविक हतियार कार्यक्रमसम्बन्धी प्राविधिक विवरण अमेरिकालाई उपलब्ध गराएको तथा घुस लिएको आरोप लगाइएको उल्लेख गरेको छ।७५ वर्षीय झाङ सन् १९६८ देखि नै चिनियाँ जनमुक्ति सेनामा आबद्ध थिए। विगतमा उनी राष्ट्रपति सी जिनफिङका विश्वासपात्र मानिन्थे भन्ने दाबी पश्चिमा सञ्चारमाध्यमहरूले गर्दै आएका छन्।सैन्य नेतृत्व तहमै निरन्तर छानविन र निलम्बनका घटनाले चिनियाँ सेनाको स्थिरता र आन्तरिक शक्ति सन्तुलनमाथि गम्भीर प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ।