२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन आउन अब ३७ दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरू घोषणापत्र तयारीमा जुटेका छन् । तर पुस मसान्तमा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेस भने घोषणापत्र लेखनमा अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।नयाँ कार्यसमिति गठनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले घोषणापत्र निर्माणको जिम्मेवारी सभापति गगन थापालाई दिएको थियो । तर घोषणापत्र लेखन समितिले अझै पूर्णता पाउन सकेको छैन । सभापति थापा हाल सर्लाही–४ मा चुनावी अभियानमा व्यस्त छन् । उनी काठमाडौं फर्किएपछि बुधबारसम्म समिति पूर्ण हुने कांग्रेस नेताहरूले बताएका छन् ।सभापति थापाको सचिवालयमा रहेका तथा यसअघि पनि घोषणापत्रमा काम गरेका नेता प्रताप पौडेलका अनुसार घोषणापत्र लेखनको प्रारम्भिक काम मात्र सुरु भएको छ । “सभापतिज्यू टिकट वितरणदेखि उम्मेदवारी मनोनयन दर्तासम्मका काममा अत्यन्त व्यस्त हुनुभयो,” उनले भने, “यद्यपि विज्ञहरूसँग सुझाव लिने काम सुरु भइसकेको छ, बाँकी प्रक्रिया क्रमशः अघि बढ्छ ।”यसअघि कांग्रेस महामन्त्री प्रदीप पौडेलले माघ १० गते घोषणापत्र सार्वजनिक गर्ने दाबी गरेका थिए । मनोनयन दर्तापछि उनले कांग्रेसको दृष्टिकोण सोही दिन सार्वजनिक हुने बताएका थिए । तर उनको भनाइअनुसार हालसम्म घोषणापत्र निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार घोषणापत्रमा ‘भिजन–१०’ समेटिनेछ । उनले घोषणापत्रले देशको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताए । घोषणापत्र आकांक्षा र प्रतिबद्धतामा सीमित नराखी कार्यान्वयनका लागि आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिने उनको भनाइ छ ।चालिसेले जिल्लास्तरबाट समेत सुझाव संकलन गरिएको र त्यसलाई एकीकृत गरी राष्ट्रिय आवश्यकतासँग जोडिने जानकारी दिए । “कांग्रेसले गर्नसक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउनेछ,” उनले भने ।
घोषणापत्र लेखनमा संलग्न एक सदस्यका अनुसार ‘भिजन–१०’ मार्फत कांग्रेसले आफ्ना प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गर्नेछ । सभापति थापाले जेन–जी विद्रोह अघि र पछिको नेपाल फरक भएको बताउँदै आएका विषयहरू घोषणापत्रको मुख्य आधार हुने उनको भनाइ छ ।यसैबीच, चुनावपछि घोषणापत्र बिर्सिने राजनीतिक दलहरूको प्रवृत्तिबाट मुक्त हुने प्रयास कांग्रेसले गर्ने नेताहरूले बताएका छन् । घोषणापत्रमा काम गरिरहेका एक नेताले भने, “अघिल्लोपटक सरकारमा हुँदा घोषणापत्र कति कार्यान्वयन भयो भनेर समीक्षा गर्नसमेत भ्याएनौँ । यो समस्या सबै दलको हो । भिजन–१० ले कम्तीमा यस कमजोरीबाट मुक्त हुन सहयोग गर्ने अपेक्षा गरेका छौँ ।”