काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय आर्थिक बहस २.० मा सम्बोधन गर्दै भ्रष्टाचार, पार्टीगत लेवी र कमिसनको सञ्जाललाई कुनै पनि हालतमा सहन नसकिने बताएकी छन्। पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीले युवा नेतृत्वको जेनजी आन्दोलनलाई नवीन म्यान्डेटको रूपमा व्याख्या गर्दै आर्थिक सुशासन र सहकार्यमार्फत समृद्ध नेपाल निर्माणको प्रतिबद्धता व्यक्त गरिन्।
“मेरो जीवन कानुन र न्यायको बहसमा बित्यो, त्यसैले बहस शब्द मलाई प्रिय छ,” उनले भनिन्, “यो बहसले मुलुकलाई सकारात्मक आर्थिक दिशा दिनेछ।” निजी क्षेत्रको योगदानलाई आर्थिक समृद्धिको ‘विशाल ढुङ्गा’ को रूपमा चित्रण गर्दै कार्कीले भनेकी छन्, “उद्योगी व्यवसायीहरूले रोजगारी र करमार्फत राज्यको दायित्व वहन गरेका छन्। उनीहरूको मनोबल नउठेसम्म अर्थव्यवस्था उकास्न सकिँदैन।”
भदौ २३–२४ गतेको जेनजी आन्दोलनलाई युवाको स्पष्ट सन्देश ठानेकी प्रधानमन्त्रीले यसलाई भ्रष्टाचारविरुद्धको लक्ष्मणरेखा भनेकी छन्। “घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य छैन। लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन,” उनले जोड दिएकी छन्। आन्दोलनका क्रममा उच्छृङ्खल तत्वहरूले निजी क्षेत्रमा पारेको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइते युवा र प्रभावित व्यवसायीलाई राहतको प्रतिबद्धता दोहोर्याइन्। “यो आन्दोलन आर्थिक–सामाजिक अग्रगमनकै लागि थियो। अब पछौटे यथास्थितिमा बस्न सकिँदैन,” उनले थपिन्।
नेपालको अर्थतन्त्र रेमिट्यान्स, प्राकृतिक स्रोत र पर्यटनमा आधारित हुँदाहुँदै संरचनागत कमजोरी र पुँजी पलायनले चुनौती थपेको स्वीकार गर्दै कार्कीले युवाको बिदेसिने प्रवृत्ति, लगानी अभाव र बैंक ऋणको समस्या औंल्याइन्। विगतका द्वन्द्व, भूकम्प र महामारीका बावजुद एकताबाट पार पारेको स्मरण गर्दै उनले सुशासनलाई सामाजिक न्याय र वृद्धिको पूर्वशर्त ठानिन्। “राजकीय सम्पत्तिमा राजनीतिक लुट र निजी क्षेत्रमाथि दोहनकारी प्रणाली सजगताको विषय हो,” उनले भनेकी छन्।
सहकार्यलाई इन्जिनको तुलनामा व्याख्या गर्दै प्रधानमन्त्रीले नेपालीलाई ‘इन्जिनियर’, समाज–सरकारलाई ‘इन्जिन’ र उद्यमी–श्रमिकलाई ‘इन्धन’ को रूपमा चित्रण गरिन्। रेमिट्यान्स निर्भरताबाट मुक्तिका लागि आफ्नै उत्पादन वृद्धि, पुँजीगत खर्च तीव्रता, बैंक स्थिरता र नीतिगत जटिलता हटाउने कदम उल्लेख गर्दै जलविद्युत, पर्यटन र कृषिलाई प्राथमिकता दिइने बताइन्। आगामी फागुन २१ को निर्वाचनलाई दिगो लोकतन्त्रको अवसर ठानेकी कार्कीले निजी क्षेत्रको भूमिका आह्वान गरिन्।
“डराउने होइन, आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्। हातेमालोको समय हो,” युवा, उद्यमी र किसानलाई अपिल गर्दै उनले आर्थिक वृद्धि र महँगी घट्ने सङ्केत सकारात्मक ठानिन्। “हाम्रो देश हामीले नबनाए कसैले बनाइदिँदैन। हिजोभन्दा राम्रो भोलि एकजुट भएर बनाउनेछौँ,” सम्बोधनको अन्त्य गर्दै कार्कीले समृद्ध नेपालको ब्लु प्रिन्ट यस बहसबाट निस्कने विश्वास व्यक्त गरिन्।
यो सम्बोधनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र आर्थिक सहकार्यको सन्देश दिँदै नेपालको राजनीतिको नयाँ अध्याय सुरु गरेको विश्लेषकहरूले ठान्छन्।