• Saturday, June 21, 2025

गौतमलाई पद्मश्री साहित्य पुरस्कार


खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विक्रम सम्वत २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई अर्पण गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो ।

द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भएपनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्गहरू अनेक भएपनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने बिषयमा अत्यन्तै परिस्कृत तथा बोधगम्य भाषा र शैलीमा अद्वैत उपन्यास लेखिएको छ । प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुनुहुन्छ । प्रा. गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । 

नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिबिधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहुनुभएका साहित्यिक अभियन्ता तथा चिन्तक श्री पवन कुमार चामलिंगलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको छ । । श्री चामलिंग २४ बर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री हुनुहुन्थ्यो ।

समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गर्नुभएका त्रिभुवन विश्वबिद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गर्ने निर्णय गरिएको जनाएको छ।

यी पुरस्कारको राशी जनही रु ३ लाख तथा सम्मान पत्र रहेको छ।

Please Login to comment in the post!

you may also like