• Tuesday, March 3, 2026

सिनामंगलमा असईद्वारा चार महिने छोराको हत्या, आरोपित पक्राउ



काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार हत्या गरी फरार भएका कार्कीलाई नागढुंगाबाट पक्राउ गरिएको हो । उनलाई परिसरको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नै डेरा कोठामा चार महिने छोराको घाँटी थिचेर हत्या गरेका हुन् । मृतक शिशु ब्रेन ट्युमरको उपचाररत रहेको र उपचारका विषयमा कार्की र उनकी श्रीमती कृष्णा कुँवरबीच विवाद भएको खुलेको छ । सोही विवादपछि कार्कीले छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।कार्कीकी श्रीमती कृष्णा कुँवर पनि प्रहरी जवान हुन् । दुवै जना काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ । घटनाका क्रममा कार्कीले श्रीमतीलाई कुटपिट गरी घाइते बनाएको आरोपसमेत लागेको छ ।घाइते कृष्णा कुँवरलाई उपचारका लागि हाल महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Please Login to comment in the post!

you may also like