पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ जना विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत वर्षको असोजदेखि जेठ ४ गतेसम्मको अवधिमा खुम्बु क्षेत्रमा यति धेरै संख्यामा विदेशी पर्यटकको मृत्यु भएको हो।
जिल्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनुसार मृत्यु हुने अधिकांशमा उचाइको असर (लेक लाग्ने), मुटुसम्बन्धी समस्या र प्रतिकूल मौसम जिम्मेवार देखिएको छ।
मृत्यु हुने पर्यटकमा जापान, अस्ट्रेलिया, भारत र सिंगापुरका दुई/दुई जना, रोमानिया, चीन, बेल्जियम, मलेसिया र फिलिपिन्सका एक/एक जना छन्। उनीहरूको उमेर ३० देखि ६५ वर्षको बीचमा छ।
जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक मनोवत कुँवरका अनुसार मृतकमध्ये ६ जनाको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो। तीमध्ये सगरमाथा आरोहणका क्रममा फिलिपिन्स र भारतका एक/एक आरोहीको ज्यान गयो, भने ल्होत्सेमा भारत र रोमानियाका आरोहीले ज्यान गुमाए। मेरा पिकमा एक जना बेल्जियम नागरिक र आमादब्लममा एक अस्ट्रेलियन नागरिकको मृत्यु भयो।
खुम्बु क्षेत्र विश्वभरका पर्यटकको सपनाको गन्तव्य हो। सगरमाथा मात्र नभई ल्होत्से, नुप्त्से, आमादब्लम, थामसेर्कु, खाङ्तेका, चोयुजस्ता हिमशृंखलाले यो क्षेत्रलाई मनमोहक बनाएको छ। यहाँका गाउँ, शेर्पा समुदायको संस्कृति, धार्मिक आस्था र हिमाली जीवनशैलीले पनि पर्यटकलाई आकर्षित गर्छ। सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्र युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत छ।
यही कारण हरेक वर्ष हजारौँ पर्यटक खुम्बु भ्रमणमा आउँछन्। तर यो क्षेत्रमा जोखिम पनि उत्तिकै छ। उचाइको असर, चिसो मौसम, अक्सिजनको कमी, हिमपहिरो र अन्य स्वास्थ्य समस्याले पर्यटकको ज्यान जाने गरेको सगरमाथा आरोही विजय विश्वकर्माले बताए।
“हिमाल घुम्नु जति रमाइलो छ, त्यति नै चुनौतीपूर्ण पनि छ। यस सिजनमा सगरमाथा आरोहण गर्दा म आफैँ दुर्घटनामा परेँ। तेस्रो शिविर माथिबाट खसेको हिउँको डल्लाले मेरो टाउकोमा लागेर आठ टाँका लगाउनुपर्यो,” उनले भने।
पर्यटन व्यवसायीहरूले हरेक पर्यटकीय याम सुरु हुनुअघि स्वास्थ्य परीक्षण, उचाइमा हिँड्न आवश्यक तालिम र सचेतना कार्यक्रम गर्नुपर्ने माग उठाउँदै आएका छन्।
स्थानीय पर्यटन व्यवसायीका अनुसार पर्यटकका लागि पूर्वतयारी, स्वास्थ्य जाँच, पथप्रदर्शकको भूमिका, आवश्यक पूर्वाधार, हेलिकप्टर उद्धार प्रणालीको सुधार, मौसम पूर्वानुमानको सही जानकारी र जोखिम न्यूनीकरणका उपाय बलियो बनाउनुपर्छ।
सबैभन्दा कान्छा सगरमाथा आरोही तेम्बा छिरी शेर्पाले बताएअनुसार खुम्बु क्षेत्रमा आउने पर्यटक प्रायः ‘हाइ अल्टिच्यूड’ कै कारण समस्यामा पर्छन्। उनको भनाइमा पर्यटकका लागि अनिवार्य स्वास्थ्य परीक्षण, वातावरणीय सचेतना र स्थानीय प्रशासनसँगको प्रभावकारी समन्वय आवश्यक छ।