काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्ने प्रचारको खण्डन गरेका छन्। सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै मेयर शाहले महानगर कुनै पनि आरोप र जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारेका छन्।मेयर शाहका अनुसार, सिंहदरबारमा आगलागी भएको तत्कालै दमकल पठाउने प्रयास गरिए पनि आन्दोलनकारीको अवरोधका कारण दमकल पुग्न सकेको थिएन। “सिंहदरबार जलेको लगत्तै दमकल पठाउने प्रयास गरिए पनि आन्दोलनकारीको हुलले काम गर्न दिएन,” उनले भने, “नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि आगो निभाउन नसकेको अवस्था थियो।”उनले भीड शान्त भएलगत्तै २४ गते साँझ ८:१५ बजे महानगरको दमकल सिंहदरबार पुगेको दाबी गरेका छन्। “भीड अलिक शान्त भएपछि हाम्रो दमकल तुरुन्तै त्यहाँ पुगेको थियो,” शाहले भने।
मेयर शाहले महानगरभित्र जुनसुकै संरचनामा आगलागी भए पनि त्यसलाई जोगाउने प्रमुख दायित्व महानगरको भएको बताए। उनले २३ गते दिउँसो १:३० देखि ५ बजेसम्म संसद् भवन अगाडि आगो लागेको एम्बुलेन्समा न्युरोड र रामहिटीका दमकलले आगो निभाएको जानकारी दिए। साथै, न्युरोडको अर्को दमकलले सुन्धारा र शान्तिनगरमा बिजुलीको पोलमा लागेको आगो निभाएको उनले उल्लेख गरे।“२४ गते बिहानैदेखि कुनै पनि दमकल सञ्चालनमा आउन सकेको थिएन, तर राति ८ बजेदेखि १ बजेसम्म दमकलले काम गरिरहेको थियो,” मेयर शाहले भने।मेयर शाहले महानगरले आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध रहेको र भ्रामक प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन्।