• Tuesday, March 3, 2026

शक्तिको मनोविज्ञान


रक्सी, चुरोट, लागुपदार्थ वा जुवाजस्ता कुलतले मानिसलाई शारीरिक र मानसिक रूपमा क्षति पुर्‍याउँछन् भन्ने कुरा आज सर्वविदित भइसकेको छ। यस्ता पदार्थको सेवनले मानिसको विवेक कुन्द हुन्छ, व्यवहार परिवर्तन हुन्छ र अन्ततः व्यक्ति स्वयं तथा समाज दुवै संकटमा पर्छन्। तर प्रश्न यहीँ समाप्त हुँदैन। के केवल खाएर, पिएर वा इन्जेक्सन लगाएर मात्र मानिसमा लत र मात लाग्छ त ? के कुनै पदार्थ नसेवन गरी पनि मानिस मानसिक उन्मादमा फस्न सक्छ ? अझ गहिरिएर सोच्दा, के ठूलो पद, शक्ति र अधिकार आफैंमा यस्तो नशा बन्न सक्छ, जसले लागुपदार्थ सेवन गरेसरह मानिसको सोच, निर्णय र व्यवहारमा गहिरो असर पार्छ ?समकालीन समाजमा लतको परिभाषा क्रमशः फराकिलो बन्दै गएको छ। आज स–साना बालबालिकादेखि युवासम्म मोबाइल फोन, कम्प्युटर, ट्याब्लेट र टेलिभिजनको पर्दामा घण्टौँ हराइरहन्छन्। अत्यधिक स्क्रिन टाइमका कारण उनीहरूमा चिडचिडापन, चिन्ता, निराशा, एकाग्रतामा कमी र सामाजिक सम्बन्ध कमजोर हुनेजस्ता लक्षण देखिन थालेका छन्। यी लक्षणहरू लागुपदार्थको लतमा देखिने मानसिक अवस्थासँग धेरै हदसम्म मिल्दोजुल्दो छन्। यसले के संकेत गर्छ भने लत भन्नु केवल कुनै रासायनिक पदार्थसँग सीमित छैन; वातावरण, अनुभव र परिस्थितिले पनि मानिसको मस्तिष्कलाई गहिरो रूपमा प्रभावित गर्न सक्छ।वातावरणले मानसिक अवस्थामा पार्ने प्रभावको उदाहरण स्वास्थ्य क्षेत्रमा प्रस्ट देखिन्छ। ‘ह्वाइट कोट सिन्ड्रोम’ भनेर चिनिने अवस्था धेरै डाक्टर र नर्सहरूका लागि परिचित छ। सामान्य अवस्थामा ठिक देखिने मानिस अस्पतालमा डाक्टरको सेतो कोट वा स्टेथेस्कोप देख्नेबित्तिकै डराउँछ, उसको मुटुको धड्कन तीव्र हुन्छ र रक्तचाप अस्वाभाविक रूपमा बढ्छ। यसले गर्दा चिकित्सकीय परीक्षण नै भ्रमित हुन सक्छ। यहाँ कुनै औषधि सेवन गरिएको हुँदैन, तर केवल वातावरण र प्रतीकले नै शरीर र मस्तिष्कमा असर पुर्‍याइरहेको हुन्छ।

यस्तै अर्को रोचक उदाहरण मेडिकल शिक्षा क्षेत्रमा देखिन्छ। मेडिकल कलेजका पहिलो वर्षका विद्यार्थीहरू आफूले पढेका रोगहरू आफैंमा पनि छन् कि भन्ने आशंकामा अल्झिन्छन्। सामान्य टाउको दुखाइलाई गम्भीर रोग ठान्ने, सानो लक्षणलाई ठूला समस्यासँग जोड्ने प्रवृत्तिलाई अनौपचारिक रूपमा ‘फर्स्ट इयर सिन्ड्रोम’ भनिन्छ। यो पनि अस्थायी मानसिक अवस्था हो, जुन अनुभव र ज्ञान बढ्दै जाँदा आफैं हराउँदै जान्छ। यी उदाहरणहरूले देखाउँछन् कि मस्तिष्कलाई असर पार्न भौतिक पदार्थ अनिवार्य हुँदैन; अनुभूति, कल्पना र सन्दर्भ नै पर्याप्त हुन सक्छ।कतिपय मानिस त सिनेमामा रगत देख्दा वा हिंसात्मक दृश्य हेर्दा समेत बेहोस हुने अवस्थामा पुग्छन्। वास्तविक खतरा नभए पनि मस्तिष्कले त्यसलाई यथार्थ खतरा ठानेर शरीरलाई प्रतिक्रिया दिन्छ। यी सबै दृष्टान्तहरूले एउटै तथ्य उजागर गर्छन्—मानव चेतना अत्यन्त संवेदनशील छ, र वरिपरिको वातावरण, शक्ति संरचना र सामाजिक अवस्थाले त्यसलाई सजिलै प्रभावित गर्न सक्छ।यही सन्दर्भलाई अगाडि बढाउँदा एउटा गम्भीर प्रश्न उठ्छ—समाजका ठूला शक्ति केन्द्रमा बसेका मानिसहरू, विशेषतः राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरू, के पद र शक्तिको कारण मानसिक रूपमा प्रभावित हुँदैनन् ? के उनीहरूमा पनि बिस्तारै एक प्रकारको ‘शक्तिको नशा’ विकास हुँदैन ? यदि यस्तो हुन्छ भने, यसको असर केवल व्यक्तिमा मात्र होइन, पूरै राष्ट्र र समाजमा पर्न सक्छ।

मनोचिकित्साशास्त्रले मानसिक रोगहरूको विभिन्न वर्गीकरण गरेको छ। तीमध्ये ‘व्यक्तित्व विकार’ भनेर चिनिने समूहभित्र नार्सिसिस्टिक व्यक्तित्व विकार र असामाजिक व्यक्तित्व विकार जस्ता अवस्थाहरू पर्छन्। नार्सिसिस्टिक व्यक्तित्व विकार भएका मानिसहरू आफूलाई अरूभन्दा विशेष र श्रेष्ठ ठान्छन्, निरन्तर प्रशंसाको अपेक्षा गर्छन्, अरूको भावना र आवश्यकताप्रति उदासीन हुन्छन् र आफ्नो उपलब्धिलाई बढाइचढाइ प्रस्तुत गर्छन्। यस्तै, असामाजिक व्यक्तित्व विकार भएका व्यक्तिहरू प्रायः झुट बोल्ने, ठगी गर्ने, कानुन उल्लंघन गर्ने, आक्रामक हुने र आफ्नो व्यवहारले अरूलाई पारेको असरप्रति पश्चाताप नगर्ने प्रवृत्तिमा देखिन्छन्।यी लक्षणहरू हेर्दा लाग्न सक्छ, यस्ता केही गुण त सामान्य मानिसमा पनि कहिलेकाहीँ देखिन्छन्। तर वास्तविक रोगीमा यी लक्षणहरू अत्यन्त तीव्र, निरन्तर र विनाशकारी रूपमा उपस्थित हुन्छन्। शरीरमा भाइरस र ब्याक्टेरिया सधैं भएजस्तै, व्यक्तित्वका यस्ता नकारात्मक प्रवृत्तिहरू पनि सबैमा केही न केही मात्रामा हुन सक्छन्। तर जब ती नियन्त्रणभन्दा बाहिर जान्छन्, तब समस्या गम्भीर बन्छ।यदि उच्च राजनीतिक पद र शक्ति यस्ता व्यक्तित्व विकारलाई अझ बलियो बनाउने उत्प्रेरक बने भने के हुन्छ ? शक्तिमा रहँदा निरन्तर जयजयकार, आलोचनाको अभाव, डर र चाप्लुसीले भरिएको वातावरणले मानिसलाई यथार्थबाट टाढा लैजान सक्छ। यहीँ प्लेटोको ‘गुफाको रूपक’ स्मरणीय हुन्छ। गुफाभित्र कैद मानिसहरूले पर्खालमा देखिने छायालाई नै वास्तविकता ठान्छन्। बाहिरको सत्य उनीहरूका लागि अज्ञात रहन्छ। लामो समयसम्म शक्तिको गुफामा बस्ने व्यक्ति पनि आफ्नै कल्पनालाई यथार्थ ठान्न थाल्न सक्छ।प्लेटोले यसै कारण ‘दार्शनिक राजा’को अवधारणा अघि सारेका थिए—यस्तो शासक जो ज्ञान, विवेक र आत्मसंयमले युक्त होस्, जसले छायाभन्दा बाहिरको सत्य देख्न सकोस्। भारतीय दार्शनिक परम्परामा पनि यस्तै चेतावनी पाइन्छ। इश उपनिषदको प्रसिद्ध श्लोकले अज्ञानको उपासनामा मात्र होइन, ज्ञानमै अन्धो भएर डुब्नेलाई पनि घोर अन्धकारको चेतावनी दिन्छ। ज्ञान वा शक्ति दुवै यदि विवेकविहीन भए भने विनाशकारी बन्न सक्छन्।आधुनिक समयमा पनि यस विषयमा आवाज उठ्न थालेका छन्। बेलायतका पूर्व विदेश सचिव तथा चिकित्सक डेभिड ओवेनले ‘ह्युब्रिस सिन्ड्रोम’को अवधारणा अघि सारेका छन्। लामो समयसम्म शक्तिमा रहँदा मानिसमा अत्यधिक आत्मविश्वास, आलोचनाप्रति असहिष्णुता, आफ्नै निर्णयलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति विकास हुन्छ भन्ने उनको तर्क छ। तर यस्तो अवस्थालाई आधिकारिक मानसिक रोगका रूपमा अझै व्यापक मान्यता मिलिसकेको छैन।

यसको मुख्य कारण सायद यही हो—शक्तिमा बसेका व्यक्तिहरूले आफ्नो मानसिक समस्या स्वीकार्न चाहँदैनन्, र उनीहरूलाई जाँच्ने आँट पनि कमैमा हुन्छ। इतिहास साक्षी छ, शासकको गल्ती औंल्याउनेहरू नै दण्डित भएका छन्। यस्तो अवस्थामा शक्तिको उन्माद नियन्त्रण गर्ने उपाय खोज्नु अत्यन्त आवश्यक देखिन्छ।पदको अवधि सीमित गर्नु, शक्ति सन्तुलनका संरचना बलियो बनाउनु, स्वतन्त्र प्रेस र आलोचनाको संस्कृतिलाई संरक्षण गर्नु, र सानैदेखि नैतिक तथा आलोचनात्मक सोचमा आधारित शिक्षा दिनु—यी सबै उपायहरूले शक्तिको नशाबाट समाजलाई जोगाउन सक्छन्। सम्भवतः भविष्यमा ‘ह्युब्रिस सिन्ड्रोम’लाई औपचारिक रूपमा मानसिक स्वास्थ्यको क्षेत्रमा स्थान दिइनेछ र त्यसका उपचारका उपायहरू पनि विकसित हुनेछन्।प्रश्न यहीँ आएर ठोक्किन्छ—शक्ति स्वयं समस्या होइन, तर शक्तिसँग विवेक नजोडिँदा त्यो नशा बन्छ। र त्यो नशाले व्यक्ति मात्र होइन, पूरा समाजलाई अन्धकारतर्फ डोर्‍याउन सक्छ। त्यसैले शक्ति पाउनेहरूभन्दा पनि शक्ति नियन्त्रित गर्ने चेतना समाजमा बलियो हुनु अपरिहार्य छ।

Please Login to comment in the post!

you may also like