नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टीको महाधिवेशन सम्पन्न भइसकेपछि पनि पुनः आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि गम्भीर रूपमा हानिकारक हुने चेतावनी दिएका छन् । महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायको रूपमा स्वीकार नगर्ने प्रवृत्तिले एमाले ‘अन्त्यहीन बहसको क्लब’मा रूपान्तरण हुने खतरा रहेको उनले बताए । महाधिवेशन सम्पन्न भएलगत्तै केही नेताहरूले अलग्गै भेला आयोजना गरेको सन्दर्भ उल्लेख गर्दै यस्ता गतिविधि अपेक्षित नभएको प्रतिक्रिया उनले दिएका हुन् ।
ज्ञवालीका अनुसार महाधिवेशनले गरेका निर्णय अन्तिम मानिनुपर्छ । त्यसपछि पनि मुद्दा कायमै राख्दै जाने हो भने पार्टी एकता, अनुशासन र राजनीतिक प्रभावशीलता क्रमशः कमजोर हुँदै जाने उनको भनाइ छ । “महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, त्यसको फैसला पनि अन्तिम नमानिने हो भने पार्टी अन्त्यहीन बहसको थलो बन्छ,” उनले स्पष्ट पारे ।
उनले एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको प्रमुख कारण नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नहरूको उत्तर दिनु रहेको बताए । महाधिवेशनले ती सबै प्रश्नहरूको स्पष्ट र द्विविधारहित जवाफ दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको उनको दाबी छ । “एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसंगत कारण थियो—केही कमरेडहरूले उठाएका नेतृत्वसम्बन्धी प्रश्नहरूलाई महाधिवेशनमार्फत स्पष्ट रूपमा समाधान गर्नु,” उनले भने ।
महाधिवेशनअघि उठाइएका मुद्दा बोकेर अझै पनि ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’को बाटोमा हिँड्नु पार्टीका लागि निरर्थक हुने ज्ञवालीको ठहर छ । यस्तो अभ्यासले पार्टीलाई कुनै गन्तव्यमा नपुर्याउने उनको टिप्पणी छ । “अब पनि महाधिवेशनपूर्वकै ब्यागेज बोकेर अघि बढ्दा कहीँ पुगिँदैन,” उनले स्पष्ट धारणा व्यक्त गरे ।
ज्ञवालीले छोटो अवधिमै पार्टीलाई संगठित र स्थिर अवस्थामा ल्याउन सफलता मिलेको दाबी गर्दै अब एमालेको ध्यान ठूला राष्ट्रिय जिम्मेवारीतर्फ केन्द्रित हुनुपर्ने बताए । लोकतन्त्र बहाली, संविधानको रक्षा, स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्राजस्ता विषयहरूमा पार्टीको समग्र ऊर्जा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । आन्तरिक विवादभन्दा बाहिर निस्केर राष्ट्रिय एजेन्डामा केन्द्रित हुनु आजको आवश्यकता भएको उनले जोड दिए ।
यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्ने आशयको अभिव्यक्ति दिएको सन्दर्भमा ज्ञवालीले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । गणतान्त्रिक व्यवस्था स्थापना गर्न योगदान पुर्याएका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु आश्चर्यजनक भएको भन्दै उनले गणतन्त्र, संविधान र लोकतान्त्रिक व्यवस्थाप्रतिको प्रतिबद्धता कमजोर पार्ने कुनै पनि अभिव्यक्ति स्वीकार्य नहुने स्पष्ट पारे ।