• Thursday, March 5, 2026

नेपालका राजमार्गमा अनावश्यक ब्यारिकेड : अवरोधको नाममा सास्ती



नेपालका प्रमुख राजमार्गहरूमा यात्रा गर्दा हरेक प्रहरी चौकीअगाडि ठडिएका ठूला–ठूला ब्यारिकेड देख्नु सामान्यजस्तै बनेको छ। यी भौतिक अवरोधहरू गाडीको गति नियन्त्रण गर्ने नाममा राखिएका भए पनि वास्तविक उद्देश्य भने गिटी, बालुवा, कृषि उपज र चौपायाँ बोकेका साना ट्रक तथा ट्र्याक्टरहरू रोकेर जाँच गर्ने मात्रै देखिन्छ। करिब २० वर्षअघि भारतका राजमार्गमा पनि यस्तै दृश्य देखिन्थ्यो, तर अहिले त्यहाँ यस्ता ब्यारिकेड पूर्ण रूपमा हटाइएका छन्। तर नेपालमा भने सुरक्षा खतरा नभएका ठाउँमा समेत यी अवरोध अनिवार्यजस्तै बनेका छन्, जसले सर्वसाधारणलाई अनावश्यक झञ्झट र मानसिक तनाव दिइरहेको छ।

व्यवहारमा यी ब्यारिकेडहरूले सबैभन्दा बढी मार किसान र साना व्यवसायीमाथि पारेको छ। बाख्रा, कुखुरा, तरकारी, दूध बोकेर बजार ल्याउने किसानहरूलाई पटक–पटक रोकेर कागजात जाँच्ने, जरिवाना तिराउने र घण्टौँसम्म अल्झाउने गरिन्छ। जिल्ला–अन्तर यातायात र क्वारेन्टाइन नियमहरूको नाममा हुने यस्तो जाँचले किसानहरूले आर्थिक नोक्सानी मात्र होइन, मानसिक पीडा पनि भोग्नुपरेको छ। यस्तो अवस्थाले गर्दा बजारमा तरकारी र दुग्धजन्य पदार्थको मूल्य बढ्ने र उपभोक्ता पनि मारमा पर्ने गरेका छन्।

सुरक्षा निगरानी आवश्यक छ, तर यो पुरानो, अव्यवहारिक र अवरोधमुखी शैलीमा होइन। यी ब्यारिकेडहरूले सुरक्षा व्यवस्थापनभन्दा बढी निषेध र त्रासको अनुभूति गराउँछन्। फलस्वरूप सर्वसाधारणमा प्रहरीप्रति असन्तोष र झन्झटको भावना बढ्दै गएको छ। यस्तो अवस्थाले सुरक्षा प्रवन्ध बलियो हुने होइन, उल्टै जनता र प्रहरीबीचको दूरी बढाउने जोखिम छ। साथै, अचानक ब्रेक लगाउँदा हुने दुर्घटनाको सम्भावना पनि उत्तिकै रहन्छ।

आधुनिक प्रविधिको यो युगमा यस्ता ब्यारिकेडको सट्टा भेहिकल ट्र्याकिङ सिस्टम (VTS), डिजिटल निगरानी प्रणाली, CCTV र अनलाइन अनुमति प्रणाली जस्ता वैकल्पिक उपायहरू अपनाउन सकिन्छ। यी प्रविधिहरूले सवारीसाधनलाई रोक्नु नपरी पारदर्शी र प्रभावकारी निगरानी गर्न सकिन्छ। भारतमा सयौँ किलोमिटर राजमार्गमा यात्रा गर्दा न त प्रहरी चौकीअगाडि ब्यारिकेड देखिन्छ, न त अनावश्यक जाँच नै हुन्छ। त्यहाँको फास्ट–ट्याग प्रणाली र डिजिटल निगरानीले यातायातलाई सहज र सुरक्षित बनाएको छ। नेपालमा पनि यस्तै प्रणाली लागू गर्न किन ढिलाइ ?

त्यसैले, नेपालका राजमार्गहरूबाट अनावश्यक भौतिक ब्यारिकेडहरू तत्काल हटाउनुपर्छ। केवल वास्तविक सुरक्षा जोखिम भएका ठाउँमा मात्र सीमित र व्यवस्थित जाँच पोस्ट राख्ने नीति अवलम्बन गर्नुपर्छ। यसले एकातिर किसान र व्यवसायीलाई राहत दिन्छ भने अर्कोतिर राजमार्गलाई सुरक्षित, सहज र विश्वसनीय बनाउँछ। ब्यारिकेड हटाएर प्रविधिमा लगानी गरेमा प्रहरीको कार्यक्षमता बढ्नेछ र जनताको विश्वास पनि आर्जन हुनेछ। अबको सुरक्षा भनेको अवरोध होइन, सहजीकरण र प्रविधिमा आधारित हुनुपर्छ।

Please Login to comment in the post!

you may also like