काठमाडौँ — आज बिहान करिब ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) नजिकै मरेको मुसा भेटिएपछि विमानस्थल प्रशासनले तत्काल रनवे बन्द गरेको छ।
यो घटनाका कारण पोखराबाट काठमाडौँ आइरहेको बुद्ध एयरको उडान नम्बर ६६८ ले अवतरणको अन्तिम क्षणमा ‘गो अराउन्ड’ (पुनः उडान भर्ने/ओभरसुट) गर्नुपरेको थियो।
विमानस्थल स्रोतका अनुसार, अवतरण गर्ने क्रममा चालक दलले रनवेको छेउमा मरेको मुसा देखेपछि तुरुन्तै टावरलाई जानकारी गराएका थिए। विदेशी वस्तु को जोखिमलाई मध्यनजर गर्दै रनवे तत्काल बन्द गरी मुसा हटाउने र पूर्ण निरीक्षण तथा सफाइ कार्य गरिएको थियो।
यो प्रक्रियाका कारण केही उडानहरू प्रभावित भए पनि करिब ५ मिनेटपछि रनवे पुनः सञ्चालनमा आएको र उडानहरू क्रमशः सामान्य बनेको विमानस्थलले जनाएको छ।
विमानस्थल प्रशासनले जनावर तथा चराचुरुङ्गी नियन्त्रणका लागि थप कडा उपाय अवलम्बन गर्ने र नियमित रूपमा घाँस काट्ने, सफाइ तथा ‘बर्ड एन्ड वाइल्डलाइफ कन्ट्रोल’ टिमलाई सक्रिय बनाउने बताएको छ।घटना आज बिहान ८:०० बजेको हो। हाल विमानस्थल पूर्ण रूपमा सञ्चालनमा छ।