• Tuesday, March 3, 2026

भरतपुर–लुम्बिनी–पोखरालाई ‘गोल्डेन ट्रायङ्गल’ बनाएर पर्यटन विकास गर्न सरोकारवालाको जोड


काठमाडौं। सरोकारवालाहरूले भरतपुर, लुम्बिनी र पोखरालाई एउटै पर्यटन सर्किटका रूपमा जोडेर ‘गोल्डेन ट्रायङ्गल’ विकास गर्नुपर्नेमा जोड दिएका छन्। सुनौलो नेपालद्वारा आज काठमाडौंमा आयोजित ‘भरतपुरको पर्यटन’ विषयक समूहगत छलफल कार्यक्रममा सहभागीहरूले तीन प्रमुख गन्तव्यलाई समन्वय गरी एकीकृत पर्यटन प्याकेज तयार गर्न सके देशको पर्यटन क्षेत्रमा उल्लेख्य फड्को मार्न सकिने बताएका हुन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भरतपुरमा अपार पर्यटन सम्भावना हुँदाहुँदै पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको बताए। उनले भारतमा गत वर्ष आयोजना भएको महाकुम्भ मेलाको उदाहरण दिँदै नारायणी नदी, देवघाटजस्ता धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राखे।

“हामीसँग भएका स्रोतसाधनको उपयोग गर्न सकेका छैनौँ, सुनको कचौरामा मागिरह्यौँ,” उनले भने, “व्यवसायीले पर्यटनमा गरेको लगानी व्यक्तिको मात्र होइन, समग्र समुदायको हितमा हुने भएकाले त्यसअनुसारको सोच विकास गर्न आवश्यक छ।”

ढकालले पर्यटनले प्रत्यक्ष रोजगारी मात्र नभई होटल, यातायात, कृषि, हस्तकला, सेवा क्षेत्रलगायत विभिन्न क्षेत्रमा अप्रत्यक्ष रोजगारी सिर्जना गरी अर्थतन्त्र चलायमान बनाउने उल्लेख गरे।

त्यस अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको बताए। “हाल देशभर २७ वटा पाँचतारे होटल छन्, जसमध्ये छ वटा चितवनमै छन्,” उनले भने, “यसले यहाँको पर्यटन सम्भावना र पर्यटकीय पूर्वाधारमा लगानी बढ्दै गएको संकेत गर्छ।”

कार्यक्रममा सहभागीहरूले ‘भरतपुर–लुम्बिनी–पोखरा गोल्डेन ट्रायङ्गल’ अवधारणालाई सरकारी तथा निजी क्षेत्रको सहकार्यमा कार्यान्वयन गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा अझ प्रभावकारी रूपमा स्थापित गर्न सकिने निष्कर्ष निकाले।

Please Login to comment in the post!

you may also like