• Thursday, March 5, 2026

इरानी चेतावनी र सम्भावित हमलाबीच अमेरिकाले सैनिक कर्मचारी फिर्ता बोलाउन थाल्यो


इरानले अमेरिकाले सैन्य आक्रमण गरे मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउने चेतावनी दिएपछि अमेरिका सतर्क बनेको छ। सम्भावित इरानी आक्रमणको आशङ्कामा अमेरिकाले मध्यपूर्वका प्रमुख सैन्य अड्डाबाट आफ्ना केही सैनिक तथा गैर–सैनिक कर्मचारीहरू फिर्ता बोलाउन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार कतार, बहराइनलगायतका देशमा रहेका अमेरिकी अड्डाबाट कर्मचारी हटाउने प्रक्रिया सुरु गरिएको हो।इरानमा पछिल्ला दिनमा चर्किएको सरकारविरोधी प्रदर्शन र त्यसलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको कडा अभिव्यक्तिपछि तनाव झन् बढेको हो। ट्रम्पले इरानी प्रदर्शनकारीमाथि भएको दमनको विरोध गर्दै बारम्बार सैन्य कारबाहीको चेतावनी दिँदै आएका छन्। यसकै जवाफस्वरूप इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइने चेतावनी दिएका थिए।

इरानी चेतावनीपछि अमेरिकाले कतारको अल–उदैदस्थित प्रमुख सैन्य अड्डाबाट केही कर्मचारी फिर्ता बोलाएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। अल–उदैद अड्डा मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामध्ये एक मानिन्छ। यसअघि पनि उक्त अड्डा इरानी आक्रमणको निशानामा परिसकेको थियो।गत जुन महिनामा अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रमा शक्तिशाली बम प्रहार गरी ती संरचनाहरू ध्वस्त बनाएको थियो। त्यसको प्रतिकारस्वरूप इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामाथि हवाई आक्रमण गरेको थियो। यसपटक पनि इरानले पुनः हमला गर्न सक्ने आँकलनका आधारमा कर्मचारीहरू फिर्ता बोलाइएको सिएनएनले उल्लेख गरेको छ।

अमेरिकाले सैनिक कर्मचारी फिर्ता बोलाउन थालेपछि कतार सरकारले आफ्नो देशमा रहेका नागरिक तथा बासिन्दाको सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाइने जनाएको छ। कतारी अधिकारीहरूले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन्।अमेरिकाले लिएको कदमलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कोणबाट विश्लेषण भइरहेको छ। समाचार संस्था रोयटर्सका अनुसार ह्वाइट हाउसका केही अधिकारी र युरोपेली अधिकारीहरूले यसलाई इरानमाथि सम्भावित सैन्य आक्रमणको पूर्वतयारीका रूपमा हेरेका छन्। रोयटर्सले युरोपेली दुई अधिकारीलाई उद्धृत गर्दै आगामी २४ घन्टाभित्र अमेरिकाले इरानमा हमला गर्न सक्ने सम्भावना रहेको उल्लेख गरेको छ।

एक जना इसराइली अधिकारीले पनि राष्ट्रपति ट्रम्पले सैन्य आक्रमण गर्ने निर्णय लिइसकेको दाबी गरेका छन्। यद्यपि आक्रमणको समय र दायरा अझै स्पष्ट नभएको ती अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।यता इरानमा पछिल्लो दुई सातादेखि जारी सरकारविरोधी प्रदर्शन हालसम्मकै सबैभन्दा हिंसात्मक बनेको छ। सुरुमा आर्थिक संकटविरुद्ध सुरु भएको आन्दोलन पछिल्ला दिनमा राजनीतिक रूप लिँदै चर्किएको छ। इरानी अधिकारीहरूका अनुसार १७ दिनको अवधिमा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने १८ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। अमेरिकी मानवअधिकारवादी संस्थाहरूले भने मृतकको संख्या २६ सय नाघेको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीको समर्थन गर्दै इरानी नेतृत्वमाथि निरन्तर दबाब बढाउँदै आएका छन्। सुरुमा उनले प्रदर्शनकारीको सुरक्षाका लागि अमेरिकाले हस्तक्षेप गर्न सक्ने बताएका थिए। पछि गोली प्रहार नरोके इरानी नेतृत्वमाथि प्रत्यक्ष आक्रमण गरिने चेतावनी दिएका थिए। मंगलबार फेरि ट्रम्पले प्रदर्शन जारी राख्न आग्रह गर्दै ‘अमेरिकाबाट सहायता आउँदैछ’ भन्ने अभिव्यक्ति दिएका थिए। तर उक्त सहायता कस्तो हुने भन्नेबारे उनले खुलाएका छैनन्।बढ्दो तनावका बीच इरानका विदेशमन्त्री अब्बास अराक्ची र ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफबीच हुने भनिएको संवाद पनि स्थगित गरिएको छ। साथै अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल इरान छाड्न निर्देशन दिइसकेको छ। तेहरान हेर्ने ‘भर्चुअल’ अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै इरानमा जारी हिंसात्मक प्रदर्शनका कारण अमेरिकी नागरिकहरू असुरक्षित हुन सक्ने भन्दै देश छाड्न आग्रह गरेको हो।

यसैबीच अमेरिकाले इरानमाथि दबाब बढाउन इरानसँग व्यापार गर्ने देशहरूमा थप २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ। यद्यपि त्यसको विस्तृत विवरण र कार्यान्वयनबारे ह्वाइट हाउसले औपचारिक प्रतिक्रिया दिएको छैन।पश्चिमी अधिकारीहरूका अनुसार आन्दोलनले इरानी सरकार कमजोर बनेको देखिए पनि तत्काल सरकार ढल्ने सम्भावना भने न्यून देखिन्छ। इरानको सुरक्षा संयन्त्र अझै सरकारकै नियन्त्रणमा रहेको र सरकारी सञ्चारमाध्यमहरूले सरकारको पक्षमा प्रदर्शन र सभाहरूलाई प्राथमिकताका साथ प्रसारण गरिरहेको रोयटर्सले जनाएको छ। इरानका राष्ट्रपति मसुद पेजेशकियानले जनसमर्थन रहँदासम्म शत्रुहरूको प्रयास असफल हुने दाबी गरेका छन्।

Please Login to comment in the post!

you may also like