बाँके जिल्लामा पानीमा आश्रित जलपन्छीहरूको वासस्थान जोखिममा परेको पाइएको छ। दुई दिनसम्म गरिएको जलपन्छी गणनाका क्रममा विभिन्न तालतलैया, सिमसार, जलाशय क्षेत्र तथा नदी किनारमा जलपन्छीको संख्या घट्दो क्रममा रहेको देखिएको हो। जलपन्छीको वासस्थानमा बढ्दो मानवीय दबाब, जथाभावी विषादीको प्रयोग, सिमसार क्षेत्रको अतिक्रमण र भौतिक पूर्वाधार विकासका कारण यस्तो अवस्था आएको पाइएको सम्बन्धित निकायले जनाएको छ।नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भुपाल नेपालीका अनुसार बाँकेको राप्ती नदी तटीय क्षेत्र कुसुम, अगैया, सिधनियाघाट, विभिन्न तालतलैया र जलाशय क्षेत्रमा जलपन्छीको गणना गरिएको थियो। गणनाका क्रममा विशेष गरी नेपालगन्जस्थित कान्तितालमा विगतका वर्षको तुलनामा जलपन्छीको संख्या र प्रजाति दुवै घटेको पाइएको छ। “पहिलेका वर्षहरूमा करिब ५५ प्रजातिका जलपन्छी देख्ने गरेका थियौँ तर यस वर्ष त्यो संख्या घटेको छ,” उनले बताए।नेपालीका अनुसार बाँके जिल्लामा हाल करिब ५० प्रजातिका जलपन्छी पाइने गरेको तथ्याङ्क छ। तीमध्ये चखेवा र सिलसिले हाँसको संख्या अन्य प्रजातिको तुलनामा बढी रहेको पाइएको छ। यद्यपि केही दुर्लभ तथा कम देखिने प्रजातिहरूको अवस्था चिन्ताजनक रहेको र त्यसको विस्तृत विश्लेषण अझै बाँकी रहेको उनले जानकारी दिए।
नेपालमा हरेक वर्ष जनवरी महिनाको पहिलो हप्तादेखि जलपन्छी गणना गरिँदै आएको छ। यस वर्ष पुस १९ गतेदेखि देशका विभिन्न स्थानमा जलपन्छी गणना सुरु गरिएको र माघ ४ गतेसम्म अन्य जिल्लाहरूमा पनि गणना कार्य जारी रहने परियोजनाले जनाएको छ। जलपन्छी गणना नेपालका ८० भन्दा बढी सिमसार तथा जलीय क्षेत्रमा भइरहेको छ।भुपाल नेपालीका अनुसार जाडो याममा उत्तरी ध्रुव तथा चिसा भूभागमा अत्यधिक हिउँ पर्ने भएकाले त्यहाँका चरालाई आहारविहारमा समस्या हुने गर्छ। यही कारण हरेक वर्ष विभिन्न प्रजातिका आगन्तुक चराहरू बसाइँसराइ गरेर नेपाल आउने गर्छन्। “विश्वमा चराका आठवटा प्रमुख उडान मार्ग छन्। नेपाल दक्षिण एसियाली उडान मार्गमा पर्छ। यस मार्ग हुँदै विभिन्न देशबाट चरा नेपाल आउने गर्छन्, जसमा हाँस प्रजातिका चरा बढी हुने गरेका छन्,” उनले भने।उनका अनुसार जलपन्छी गणनाबाट आगन्तुक तथा स्थानीय प्रजातिका चराको संख्या, अवस्था र प्रजातिगत विविधताका बारेमा तथ्याङ्क सङ्कलन गरिन्छ। यसका साथै चराको आहारविहार, सिमसार क्षेत्रको अवस्था, पानीको गुणस्तर र मानवीय प्रभावसमेत अध्ययन गरिन्छ। बाँकेमा स्थानीय प्रजातिका चिबे चरा पनि देखिएको र केही दुर्लभ प्रजातिको अवस्थाबारे थप अध्ययन आवश्यक रहेको उनले बताए।परियोजनाका अर्का अधिकृत अमृत नेपालीले जलपन्छीको वासस्थान दिनप्रतिदिन जोखिममा पर्दै गएकाले सिमसार र जलाशय क्षेत्रको संरक्षणमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले कान्तिताल क्षेत्रमा यस वर्ष करिब ४० प्रजातिका जलपन्छी देखिएको जानकारी दिँदै गत वर्ष ५५ प्रजाति देखिएको तुलनामा उल्लेखनीय गिरावट आएको बताए।उनका अनुसार पानीमा आश्रित जलपन्छीको अवस्था केवल चराको संख्या मात्र नभई समग्र वातावरणीय सन्तुलनसँग पनि जोडिएको हुन्छ। “जलपन्छी घट्नु भनेको सिमसार क्षेत्रको स्वास्थ्य कमजोर हुनु हो। यसले जैविक विविधता र स्थानीय वातावरणमा दीर्घकालीन असर पार्न सक्छ,” उनले भने।
जलपन्छी गणनाले नेपालमा कुन कुन प्रजातिका चरा छन्, तिनको संख्या बढ्दैछ कि घट्दैछ, आहारविहारको अवस्था कस्तो छ र सिमसार क्षेत्रको स्थिति कस्तो छ भन्नेबारे महत्वपूर्ण तथ्याङ्क प्रदान गर्छ। सङ्कलित तथ्याङ्क सरकारलाई बुझाइने र त्यसकै आधारमा नीति निर्माण तथा संरक्षणसम्बन्धी कार्ययोजना बनाउन सहयोग पुग्ने विश्वास परियोजनाले व्यक्त गरेको छ।परियोजनाअन्तर्गत केवल गणनामा सीमित नरही समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने, चरा संरक्षणमा स्थानीय सहभागिता बढाउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जलपन्छी संरक्षणसम्बन्धी जानकारी प्रवाह गर्ने कार्य पनि भइरहेको जनाइएको छ।बाँकेको नेपालगन्जस्थित कान्तितालमा नेपाल सरकारले संरक्षण सूचीमा राखेका नौ प्रजातिका चरामध्ये सारसको एक प्रजाति पाइने गर्छ। यसका साथै सिलसिले हाँस, मरुन, कुट, बकुल्ला प्रजाति, जलेवा, सिम कुखुरा, किङफिसरलगायत विभिन्न पानीमा आश्रित जलपन्छी यहाँ देखिने गरेका छन्। संरक्षण प्रयास प्रभावकारी रूपमा अघि बढाउन सके जलपन्छी र तिनको वासस्थान दीर्घकालीन रूपमा सुरक्षित गर्न सकिने संरक्षणकर्मीहरूको धारणा छ।