• Tuesday, March 3, 2026

किन खान्थे हाम्रा पुर्खाले तिल, चाकु र तरुल ?


हाम्रा पुर्खाले चाडपर्व र ऋतु परिवर्तनसँग जोडेर विकास गरेका खानपान र जीवनशैलीका चलनहरू संयोग वा अन्धविश्वासमा आधारित थिएनन् । समय, मौसम र मानव शरीरको आवश्यकतालाई सूक्ष्म रूपमा बुझेर अपनाइएका ती अभ्यासलाई आज आधुनिक विज्ञान र आयुर्वेद दुवैले पुष्टि गरिरहेका छन् । जाडोयामको सङ्क्रमणकालमा पर्ने माघे संक्रान्ति यस्तै वैज्ञानिक र स्वास्थ्यसँग गहिरो रूपमा जोडिएको पर्व हो ।चिसो पुसलाई बिदा गर्दै अझै कठोर जाडो बोकेको माघ महिनाको आगमनसँगै नेपालका विभिन्न समुदायमा माघे संक्रान्ति विशेष रूपमा मनाइन्छ । यस अवसरमा तरुल, पिँडालु, सखरखण्ड, तिलको लड्डु, चाकु, सक्खर, घिउ, खिचडीजस्ता परम्परागत परिकार बनाएर खाने, बाँड्ने र शुभकामना साटासाट गर्ने चलन छ । यी सबै परिकार केवल स्वादका लागि होइन, शरीरलाई जाडोबाट जोगाउने, शक्ति बढाउने र ऋतु परिवर्तनसँग अनुकूल बनाउने उद्देश्यले विकास गरिएका हुन् ।

आयुर्वेदका प्रमुख ग्रन्थ चरक संहिता र अष्टाङ्ग हृदयम्‌मा ऋतु परिवर्तनसँगै खानपान र दिनचर्या परिवर्तन गर्नुपर्ने स्पष्ट निर्देशन दिइएको छ । माघे संक्रान्तिपछि सूर्य उत्तरायणतर्फ प्रवेश गर्ने भएकाले यस समयलाई आयुर्वेदमा ‘उत्तरायण’ वा ‘आदानकाल’ भनिन्छ । उत्तरायण सुरु भएसँगै सूर्यको प्रभाव क्रमशः बढ्दै जान्छ, वातावरणको शीतलता घट्दै जान्छ र हावाको रुखोपन बढ्छ । यसको प्रत्यक्ष असर मानव शरीरमा पर्न थाल्छ ।आयुर्वेदअनुसार यस समयमा शरीरभित्रको रस, ओज र शक्ति बिस्तारै सुक्न थाल्छ । यही कारण छाला सुक्खा हुने, जोर्नी दुख्ने, थकान महसुस हुने, चिसोले च्याप्ने र रोग प्रतिरोधात्मक क्षमता घट्ने समस्या देखिन्छ । यस्तो अवस्थामा आयुर्वेदले स्निग्ध (चिल्लो), उष्ण (तातो) र बल्य (शक्ति दिने) आहार सेवन गर्न सुझाव दिएको छ । यही सिद्धान्तअनुसार माघे संक्रान्तिमा तिल, चाकु, घिउ र कन्दमूल खाने परम्परा विकास भएको मानिन्छ ।

तिल मकर संक्रान्तिको सबैभन्दा महत्त्वपूर्ण परिकार मानिन्छ । आयुर्वेदमा तिललाई बल्य, वातशामक र कपाल तथा छालाका लागि लाभदायक आहार मानिएको छ । तिल उष्ण प्रकृतिको भएकाले यसले शरीरमा न्यानोपन पैदा गर्छ र जाडोमा बढ्ने वात दोषलाई सन्तुलनमा राख्न मद्दत गर्छ । तिलमा प्राकृतिक तेल प्रशस्त हुने भएकाले यसले शरीरको सुक्खापन कम गर्छ, जोर्नीलाई चिल्लो बनाउँछ र दीर्घकालीन ऊर्जा प्रदान गर्छ ।आधुनिक अनुसन्धानहरूले पनि तिलमा Sesamin र Sesamolin नामक लिग्नान्स पाइने देखाएका छन्, जसले कोलेस्ट्रोल घटाउने, रक्तचाप नियन्त्रण गर्ने र सुजन कम गर्ने काम गर्छ । जाडोयाममा नसाहरू खुम्चिने जोखिम बढ्ने भएकाले तिलको सेवनले मुटु स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने वैज्ञानिक निष्कर्षहरू छन् । तिलमा क्याल्सियम प्रशस्त हुने भएकाले जोर्नी र हड्डीको स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ ।

माघे संक्रान्तिमा खाइने चाकु र सक्खरले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छन् । चाकु र सक्खर प्रशोधित चिनीभन्दा फरक प्राकृतिक मिठास भएका पदार्थ हुन् । चाकुमा आइरन प्रशस्त हुने भएकाले यसले रगतको कमी हुन नदिने, फोक्सो सफा राख्ने र शरीरलाई भित्रबाट न्यानो बनाउने काम गर्छ । विशेष गरी महिलाहरू, वृद्धवृद्धा र कमजोर शारीरिक अवस्थाका व्यक्तिका लागि चाकु लाभदायक मानिन्छ ।घिउ आयुर्वेदमा अत्यन्तै गुणकारी आहारका रूपमा वर्णन गरिएको छ । घिउले जठराग्नि अर्थात् पाचन शक्ति बलियो बनाउँछ । जाडोमा पाचन प्रक्रिया सुस्त हुने भएकाले घिउयुक्त आहारले खाना सजिलै पचाउन मद्दत गर्छ । सही मात्रामा सेवन गर्दा घिउले शरीरलाई आवश्यक चिल्लो उपलब्ध गराउने, तन्तुहरूलाई लचिलो बनाउने र मानसिक स्पष्टता बढाउने काम गर्छ ।

मकर संक्रान्तिमा मासको दाल र चामल मिसाएर बनाइने खिचडी पनि अत्यन्त सन्तुलित आहार मानिन्छ । मासको दाल तातो प्रकृतिको र बलवर्द्धक हुन्छ भने चामल सजिलै पच्ने र तुरुन्त ऊर्जा दिने आहार हो । यी दुईको संयोजनले शरीरलाई आवश्यक प्रोटिन, कार्बोहाइड्रेट र ऊर्जा प्रदान गर्छ । वैज्ञानिक रूपमा दाल–चामलको मिश्रणलाई ‘कम्प्लिट प्रोटिन’ मानिन्छ, किनकि एकअर्कामा कमी रहेका अमिनो एसिडहरू यसले पूर्ति गर्छ ।तरुल, पिँडालु र सखरखण्डजस्ता कन्दमूलहरू पनि माघे संक्रान्तिका अभिन्न परिकार हुन् । यी कन्दमूल जटिल कार्बोहाइड्रेट र फाइबरले भरिपूर्ण हुन्छन्, जसले लामो समयसम्म टिक्ने शक्ति दिन्छ । आयुर्वेदिक दृष्टिले यी गुरु र स्निग्ध गुणयुक्त भएकाले जाडोमा बढ्ने वात दोषलाई सन्तुलनमा राख्न मद्दत गर्छन् । वैज्ञानिक अनुसन्धानहरूले यस्ता कन्दमूलमा Resistant Starch पाइने देखाएका छन्, जसले पेटका उपयोगी ब्याक्टेरियालाई सक्रिय राखेर पाचन सुधार गर्छ ।

माघे संक्रान्तिको दिन तिलको तेलले शरीर मालिस गर्ने, घाम ताप्ने र त्यसपछि स्नान गर्ने परम्परा पनि स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ । आयुर्वेदमा नियमित तेल मालिसले थकान कम गर्ने, स्नायु र जोर्नीलाई लचिलो बनाउने र वातसम्बन्धी समस्या नियन्त्रण गर्ने उल्लेख गरिएको छ । बिहानको घाममा बस्दा शरीरले प्राकृतिक रूपमा भिटामिन–डी प्राप्त गर्छ, जसले क्याल्सियमको अवशोषण बढाएर हड्डी बलियो बनाउँछ ।आयुर्वेदले मकर संक्रान्तिका परिकार बिहान वा दिउँसो खान सल्लाह दिएको छ । भारी र चिल्लो आहार राति खाँदा पचाउन गाह्रो हुन सक्छ । तिलका परिकार खाएपछि मनतातो पानी पिउनु, कन्दमूल उसिनेर वा पोलेर खानु र अदुवा, मरिच वा सुठोको प्रयोग गर्नाले पाचन अझ सहज हुने आयुर्वेदिक सुझाव छ ।

विशेष अवस्थामा भने सावधानी अपनाउनुपर्ने बताइन्छ । मधुमेह भएका व्यक्तिले चाकु र सखरखण्ड सीमित मात्रामा खानुपर्छ । पित्त प्रकृतिका मानिसले अत्यधिक तातो प्रकृतिका परिकार नखानु उपयुक्त हुन्छ ।यसरी हेर्दा माघे संक्रान्ति केवल सांस्कृतिक पर्व मात्र नभई स्वास्थ्य र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको वैज्ञानिक पर्व हो । हाम्रा पुर्खाले सुरु गरेका यी परम्परालाई अतार्किक भन्दै पन्छाउनु भन्दा यसको मर्म बुझेर अपनाउनु आजको आवश्यकता बनेको छ । बदलिँदो जीवनशैली र खानपानका बीच यस्ता परम्परागत अभ्यासले शरीर र मन दुवैलाई सन्तुलित राख्न मद्दत गर्ने देखिन्छ ।

Please Login to comment in the post!

you may also like