संयुक्त राज्य अमेरिका र इरानले बिहीबार लगातार दोस्रो दिन एकअर्कामाथि हवाई आक्रमण गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले तत्काल शान्ति सम्झौतामा सहमति नगरे थप आक्रमण गर्ने चेतावनी दिएका छन्।यो तनाव यस हप्ताको सुरुमा होर्मुज जलडमरूमध्य नजिक अमेरिकी अपाचे हेलिकोप्टर खसालिएपछि सुरु भएको थियो, जसले इरान र क्षेत्रभरका अमेरिकी सैन्य अड्डाहरूमा एकपछि अर्को प्रतिशोधात्मक आक्रमण निम्त्यायो।अप्रिलमा भएको नाजुक युद्धविरामका लागि यो सबैभन्दा गम्भीर चुनौती बनेको छ। उक्त युद्धविरामले फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायलको संयुक्त विशाल हवाई आक्रमणबाट सुरु भएको युद्ध चाँडै अन्त्य हुने आशा जगाएको थियो।अमेरिकी सेनाले आफ्नो पछिल्लो आक्रमण "सैन्य निगरानी क्षमता, सञ्चार प्रणाली तथा इरानभरका वायु प्रतिरक्षा स्थलहरू" माथि केन्द्रित गरिएको जनाएको छ। अमेरिकाले यसलाई इरानको "अनुचित र निरन्तर आक्रामकता" को जवाफ भनेको छ।फक्स न्यूजका पत्रकार ट्रे यिङ्स्टका अनुसार ट्रम्पले बुधबार साँझ अमेरिकी आक्रमणहरू छिट्टै रोक्ने बताए पनि इरानी नेताहरूले तुरुन्तै अमेरिका सँग सम्झौता नगरे पुनः व्यापक बमबारी सुरु गर्ने चेतावनी दिएका थिए।ट्रम्पको यो चेतावनीपछि तेलको मूल्य करिब ३ डलरले बढ्यो र बिहीबार एसियाली बजार खुल्दा पनि वृद्धि जारी रह्यो।अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले तेहरानको समयअनुसार मध्यरात नजिकै सुरु भएका आक्रमणहरू करिब चार घण्टापछि सम्पन्न भएको घोषणा गर्यो।इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ले कुवेत र बहराइनका १८ अमेरिकी सैन्य लक्ष्य तथा बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौँ बेडामाथि प्रतिआक्रमण गरेको जनाएको छ।त्यसपछि उसले जोर्डनको अल-अजराक हवाई अड्डामा लगातार दोस्रो रात १२ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गर्यो।कुवेतको सेनाले आफ्ना वायु प्रतिरक्षा प्रणालीहरूले शत्रुतापूर्ण हवाई लक्ष्यहरूलाई रोकिरहेको जनाएको छ भने बहराइनका राजाका एक मिडिया सल्लाहकारका अनुसार बहराइनले इरानी हवाई आक्रमणहरूलाई अवरोध गरी ध्वस्त पारेको छ।
इरानको संयुक्त सैन्य कमाण्डले होर्मुज जलडमरूमध्य पार गर्न खोज्ने कुनै पनि जहाजमाथि गोली चलाउने चेतावनी दिएको छ। इरानी सञ्चारमाध्यमहरूले दुई अमेरिकी जहाजमाथि गोली चलाइएको दाबी गरेका छन्।तर अमेरिकी सेन्ट्रल कमाण्डले जलडमरूमध्य बन्द नभएको र आफ्ना कुनै जहाज प्रभावित नभएको बताएको छ। अमेरिकाका अनुसार इरानका धम्कीका बाबजुद पनि व्यापारिक जहाजहरू त्यहाँबाट आवतजावत गरिरहेका छन्।इरानी समाचार संस्थाहरूले सिरिक, कार्गान, बन्दर अब्बास, मिनाब तथा जलडमरूमध्य नजिकका अन्य क्षेत्रहरूमा विस्फोट भएको खबर दिएका छन्। साथै, कास्पियन सागर नजिक उत्तरतर्फको वारामिन क्षेत्रमा पनि विस्फोट भएको बताइएको छ।अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले यी आक्रमणहरूलाई इरानलाई युद्ध अन्त्यका लागि सम्झौतामा ल्याउने प्रयासका रूपमा वर्णन गरेका छन्।फ्लोरिडास्थित सेन्ट्रल कमाण्ड भ्रमणका क्रममा उनले पत्रकारहरूलाई भने, “यी आक्रमणहरूले हाम्रो सैन्य हितलाई अगाडि बढाउने मात्र होइन, हाम्रो कूटनीतिक अवस्थालाई पनि बलियो बनाउनेछन्।”उनले थपे, “आज राति हामी उनीहरूलाई कडा प्रहार गर्नेछौँ, र आशा छ इरानले सही निर्णय लिनेछ। यदि बमबाट वार्ता गर्नुपर्यो भने, हामी बमबाटै वार्ता गर्नेछौँ।”
अप्रिलको अस्थायी युद्धविराम लागू भएयता अमेरिका र इरानबीच पटकपटक गोली हानाहान भएको छ, यद्यपि वार्ताकारहरूले युद्ध अन्त्यका लागि प्रयास जारी राखेका छन्।ट्रम्पले पटकपटक सम्झौता नजिक पुगेको बताएका छन्, तर कुनै ठोस सफलता देखिएको छैन। साथै उनले बमबारी पुनः सुरु गर्ने धम्की पनि दिँदै आएका छन्।बुधबार बिहान अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य वरपरका इरानी वायु प्रतिरक्षा तथा राडार केन्द्रहरूमा आक्रमण गरेको थियो। यो सोमबार अमेरिकी हेलिकोप्टर खसालिएको घटनाको प्रतिक्रिया थियो।इरानले त्यसको जवाफस्वरूप जोर्डन, कुवेत र बहराइनस्थित अमेरिकी अड्डाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गर्यो। अमेरिकी अधिकारीहरूका अनुसार ठूलो क्षति भने भएन।इरानले अमेरिका माथि १० वटा गाउँलाई खानेपानी आपूर्ति गर्ने जलाशयहरूमा आक्रमण गरेको र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोप लगाएको छ।इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने, “यो आकस्मिक क्षति होइन, यो योजनाबद्ध युद्ध अपराध र मानव अधिकारको खुला उल्लङ्घन हो।”पेन्टागनले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।यो युद्धमा हजारौँ मानिसको ज्यान गइसकेको छ र विश्वको कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्तिको करिब पाँचौँ भाग प्रभावित भएको छ, जसका कारण ऊर्जा मूल्यहरू तीव्र रूपमा बढेका छन्।इरानले होर्मुज जलडमरूमध्यमार्फत हुने जहाज आवतजावतमा रोक लगाएको छ भने अमेरिकाले पनि इरानी बन्दरगाहहरूमाथि नाकाबन्दी कायम राखेको छ।यो द्वन्द्व ह्वाइट हाउसका लागि राजनीतिक चुनौती बनेको छ। इन्धनको मूल्य बढेकाले ट्रम्पको लोकप्रियता घटिरहेको सर्वेक्षणहरूले देखाएका छन्।केही रिपब्लिकन नेताहरूले युद्धको अलोकप्रियताका कारण नोभेम्बरको मध्यावधि चुनावमा कांग्रेसमाथिको आफ्नो नियन्त्रण गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
लेबनानमा इजरायल र इरान समर्थित हिज्बुल्लाहबीचको समानान्तर युद्ध पनि जारी छ।बुधबार दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणबाट कम्तीमा १३ जनाको मृत्यु भएको लेबनानी सुरक्षा स्रोतहरूले बताएका छन्। हिज्बुल्लाहले पनि इजरायली सेनामाथि नयाँ आक्रमण गरेको दाबी गरेको छ।इजरायली सेनाले बिहीबार बिहान उत्तरी इजरायलका विभिन्न क्षेत्रमा साइरन बजेपछि दक्षिणी लेबनानमा आफ्ना सैनिकहरू तैनाथ रहेको क्षेत्र नजिक दुईवटा प्रक्षेप्य खसेको जनाएको छ।तेहरानका मागहरूमा लेबनानमाथिको इजरायली आक्रमण अन्त्य, इरानमाथिका प्रतिबन्ध हटाउने, रोक्का गरिएका अर्बौँ डलरको सम्पत्ति फुकुवा गर्ने तथा होर्मुज जलडमरूमध्यमाथिको आफ्नो नियन्त्रणलाई मान्यता दिने विषय समावेश छन्।ट्रम्पले भने इरानले होर्मुजमार्फत जहाज आवतजावतमा लगाएका प्रतिबन्ध हटाउनुपर्ने बताएका छन्। साथै, कुनै पनि शान्ति सम्झौताले इरानलाई आणविक हतियार विकास गर्न नदिने सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। इरानले भने आफूले आणविक हतियार बनाउने उद्देश्य नराखेको दाबी गर्दै आएको छ।