नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको सबैभन्दा प्रभावशाली निजी क्षेत्रीय संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को २४औँ वार्षिक साधारणसभा नजिकिँदै जाँदा नयाँ नेतृत्व चयनको बहस तीव्र बन्दै गएको छ। यही सन्दर्भमा ऊर्जा क्षेत्रका अनुभवी इन्जिनियर तथा सफल आयोजना व्यवस्थापक इन्जिनियर दीपक पौड्यालले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि चुनावी माहोल थप रोचक र प्रतिस्पर्धात्मक बनेको छ।बलराम खतिवडा नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका पौड्याललाई ऊर्जा क्षेत्रले केवल एक उम्मेदवारका रूपमा मात्र होइन, अनुभव, दक्षता र दूरदर्शिताको संयोजन बोकेको युवा नेतृत्वका रूपमा हेरिरहेको छ। एक दशकभन्दा बढी समयदेखि नेपालको जलविद्युत् विकास, आयोजना व्यवस्थापन तथा ऊर्जा उद्यमशीलतामा सक्रिय रहँदै आएका उनी प्रविधि र व्यवस्थापन दुवै क्षेत्रमा समान रूपमा अब्बल मानिन्छन्।त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानबाट इन्जिनियरिङ शिक्षा हासिल गरेका पौड्यालले व्यवस्थापनतर्फ एमबीए अध्ययन समेत पूरा गरेका छन्। प्राविधिक ज्ञान र व्यवस्थापकीय दक्षताको यही संयोजनले उनलाई ऊर्जा क्षेत्रका समकालीन चुनौती समाधान गर्न सक्षम नेतृत्वका रूपमा स्थापित गरेको छ।हाल प्रतिष्ठित औद्योगिक समूह एमभी दुगड ग्रुप अन्तर्गत सञ्चालित जलविद्युत् आयोजनाहरूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालिरहेका पौड्यालले ठूला पूर्वाधार आयोजनाको सफल व्यवस्थापनमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। उनको नेतृत्व र प्रत्यक्ष संलग्नतामा समूहले करिब १६० मेगावाट विद्युत् उत्पादनमा उल्लेखनीय सफलता हासिल गरेको छ। त्यस्तै, राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा अघि बढिरहेको ४६.७२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको प्रवर्द्धन तथा विकासमा समेत उनी मुख्य कोर टिम सदस्यका रूपमा सक्रिय छन्।
पौड्यालको अनुभव केवल नेपालभित्र सीमित छैन। उनले जापानमा डिजाइन इन्जिनियरका रूपमा काम गर्दै अन्तर्राष्ट्रिय स्तरको प्राविधिक अनुभव हासिल गरेका छन्। साथै, एप्लिकेसन डिजाइन कम्पनी लिमिटेड तथा मोगा इन्फ्राब्लक्स लिमिटेड जस्ता संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै परियोजना विकास र व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएका छन्।ऊर्जा क्षेत्रको व्यवहारिक धरातलमा लामो समय बिताएका कारण उनी एक प्रवर्द्धकले भोग्नुपर्ने नीतिगत जटिलता, वित्तीय चुनौती, आयोजना कार्यान्वयनका अवरोध तथा बजार व्यवस्थापनका समस्या नजिकबाट बुझेका व्यक्ति मानिन्छन्। यही कारण ऊर्जा उत्पादकहरूमाझ मात्र होइन, बैंक तथा वित्तीय संस्था, नीति निर्माता र सरोकारवाला निकायहरूबीच समेत उनको राम्रो सम्बन्ध र विश्वास कायम रहेको बताइन्छ।‘एकताबद्ध र सबल इपान निर्माण’ को मूल नारासहित मैदानमा उत्रिएका पौड्यालले इपानलाई केवल निजी क्षेत्रको संगठनमा सीमित नराखी नेपालको ऊर्जा समृद्धि, आर्थिक विकास र लगानी प्रवर्द्धनको अग्रणी संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेका छन्। विशेषगरी युवा ऊर्जा उद्यमीहरूको प्रतिनिधित्व गर्दै आएका उनको उम्मेदवारीले ऊर्जा क्षेत्रमा नयाँ पुस्ताको सहभागिता र नेतृत्व विकासको बहसलाई समेत बलियो बनाएको छ।उपाध्यक्ष पदका उम्मेदवार पौड्यालले ऊर्जा क्षेत्रको दिगो विकास, लगानीमैत्री वातावरण निर्माण तथा ऊर्जा व्यापार विस्तारलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन्। उनले ऊर्जा क्षेत्रमैत्री, लगानीकर्तामैत्री र झन्झटरहित नीति निर्माणका लागि राज्यका निकायसँग सशक्त पैरवी गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने, निजी क्षेत्र, सरकार र वित्तीय संस्थाबीच प्रभावकारी समन्वय स्थापित गर्ने तथा सीमापार ऊर्जा व्यापार विस्तारमा सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी वातावरणीय सन्तुलन कायम राख्दै दिगो र पर्यावरणमैत्री जलविद्युत् आयोजनाको विकास, इपान सदस्यहरूको व्यावसायिक हकहित संरक्षण तथा प्रवर्द्धकहरूको संस्थागत र प्राविधिक क्षमता अभिवृद्धिलाई समेत उनले आफ्नो कार्ययोजनाको केन्द्रमा राखेका छन्।इपानको २४औँ साधारणसभा नजिकिँदै जाँदा ऊर्जा क्षेत्रका सरोकारवालाहरूले पौड्यालको उम्मेदवारीलाई अनुभव, व्यावसायिक दक्षता र भविष्यदृष्टिको संगमका रूपमा हेरिरहेका छन्। आगामी नेतृत्व चयनले नेपालको निजी ऊर्जा क्षेत्रको दिशा र गतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएका बेला इन्जिनियर दीपक पौड्यालको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई नयाँ आयाम दिएको ऊर्जा क्षेत्रका जानकारहरूको बुझाइ छ।