काठमाडौं — नेपालमा पाटेबाघको पाँचौँ राष्ट्रिय गणना भोलिदेखि (पुस १ गतेदेखि) सुरु हुँदैछ। यसपटक करिब २ हजार ३ सय स्वचालित क्यामरा ट्र्यापको प्रयोग गरेर वैज्ञानिक तरिकाले बाघको संख्या, बासस्थान र आहारा प्रजातिको अवस्था अनुगमन गरिनेछ। यो गणना चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन मुख्य ब्लकमा विभाजन गरेर चरणबद्ध रूपमा गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।हरेक चार वर्षमा हुने यो गणनाले नेपालको बाघ संरक्षणको प्रगति मापन गर्न महत्वपूर्ण भूमिका खेल्छ। सन् २०२२ को गणनामा ३५५ वयस्क बाघ भेटिएका थिए, जसले नेपाललाई विश्वमै बाघ संरक्षणको उदाहरणीय राष्ट्र बनाएको थियो। यसपटक पनि संख्या बढ्ने अपेक्षा गरिएको छ, तर मानव–बाघ द्वन्द्व र बासस्थान अतिक्रमणका चुनौतीहरू कायमै छन्।
गणनाको मुख्य विधि क्यामरा ट्र्यापिङ हो। करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रमा २ हजार १ सयदेखि २ हजार ३ सय ग्रिड बनाएर दुई–दुई वर्ग किलोमिटरमा जोडी क्यामरा जडान गरिन्छ। बाघ बढी ओहोरदोहोर गर्ने बाटो, नदी किनार, नुनपानीका स्रोत नजिक रुखमा ४५–६० सेन्टिमिटर उचाइमा क्यामरा राखिन्छ। क्यामराले हावा र तापक्रम परिवर्तनमा स्वचालित फोटो खिच्छ, रातमा फ्ल्यास बाल्छ।प्रत्येक बाघको शरीरमा भएको काला धर्सा (स्ट्राइप प्याटर्न) फरक–फरक हुने भएकाले मानव औंठाछापजस्तै यसैबाट व्यक्तिगत पहिचान गरिन्छ। संकलित फोटोहरूलाई सफ्टवेयरमार्फत विश्लेषण गरेर संख्या यकिन गरिनेछ।
चितवन–पर्सा ब्लकबाट सुरु हुने गणनामा ८–९ सय ग्रिड छन्, जसलाई तीन खण्डमा विभाजन गरेर काम गरिनेछ। बाँके–बर्दिया ब्लकलाई पाँच खण्डमा र शुक्लाफाँटालाई एकै ब्लकमा गणना गरिनेछ। एक स्थानमा १५ रात क्यामरा राखेर करिब २२ दिनमा एउटा खण्डको काम सकिन्छ। समग्र गणना पुसदेखि चैतसम्म चल्नेछ। यससँगै आहारा प्रजाति (मृग, बँदेल आदि) को घनत्व र मानव गतिविधिको प्रभाव पनि अध्ययन गरिनेछ।राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ, जेडएसएलजस्ता संस्थाको सहयोगमा करिब २५० दक्ष जनशक्ति परिचालन हुनेछन्। बाघ संरक्षणले जंगलको समग्र पारिस्थितिक प्रणाली बलियो बनाउँछ र पर्यटनबाट अर्बौं फाइदा दिन्छ। तर, विकासका नाममा बासस्थान विनाश र द्वन्द्व बढ्दै गएकाले सहअस्तित्वको मोडल आवश्यक रहेको विज्ञहरू बताउँछन्।यो गणनाको नतिजा २०२६ को विश्व बाघ दिवस (जुलाई २९) मा सार्वजनिक गर्ने लक्ष्य छ। नेपालले सन् २०१० को १२१ बाट २०२२ मा ३५५ पुर्याएर विश्वलाई नै सन्देश दिएको छ अब यो सफलतालाई दिगो बनाउनु चुनौती हो!