• Tuesday, March 3, 2026

सह–अस्तित्वको खोजीमा हात्ती र मानव



नेपालमा हात्ती भन्नाले दुई फरक तर आपसमा गहिरो रूपमा गाँसिएका वास्तविकता बुझिन्छ—पालिएका (क्याप्टिभ) हात्ती र जंगली रूपमा विचरण गर्ने हात्ती। यी दुवै प्रकारका हात्ती नेपालको जैविक विविधताको महत्वपूर्ण अंश हुन्। तर पछिल्ला वर्षहरूमा जंगली हात्तीको बासस्थान संकुचित हुँदै जानु, जनसंख्या वृद्धि हुनु र मानव बस्ती जंगल नजिकै फैलिँदै जानुका कारण मानव–हात्ती द्वन्द्व गम्भीर समस्याका रूपमा देखिन थालेको छ।

हात्ती स्वभावतः पुर्ख्यौली बाटो पछ्याउने जनावर हो। यही कारण नेपालमा मात्र सीमित नभई भारतसँगको खुला सिमानाका कारण जंगली हात्तीहरू मौसमी रूपमा आउजाउ गर्छन्। तर जंगल घट्दै जाँदा र विचरण मार्ग अवरुद्ध हुँदा उनीहरू बस्ती पस्न बाध्य भएका छन्। यसले मानव मृत्यु, घर–खेतमा क्षति र हात्तीको ज्यान जाने घटनासमेत बढाएको छ।हात्ती साइटिस–१ मा सूचीकृत, अत्यन्तै संकटापन्न जनावर हो। त्यसैले यसको संरक्षण केवल राष्ट्रिय दायित्व मात्र होइन, अन्तर्राष्ट्रिय जिम्मेवारीसमेत हो। तर व्यवहारमा हात्ती संरक्षण मानव समाजका लागि चुनौतीपूर्ण बन्दै गएको छ। विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने मानव–हात्ती द्वन्द्वका कारण ठूलो संख्यामा जंगली हात्तीको मृत्यु भएको छ।अर्को गम्भीर पक्ष के छ भने नेपालमा घरपालुवा हात्तीको सन्तान उत्पादनका लागि उपयुक्त भाले हात्ती तयार गर्नु निकै कठिन छ। यही कारण पालुवा हात्तीको प्रजननका लागि जंगली हात्तीमै निर्भर हुनुपर्ने अवस्था छ। यसले जंगली हात्तीको संरक्षणलाई अझै संवेदनशील र महत्वपूर्ण बनाएको छ।नेपालको इतिहास हेर्ने हो भने वन–जंगल संरक्षणमा हात्तीको भूमिका अत्यन्तै महत्वपूर्ण रहँदै आएको छ। विगतमा हात्तीको अभाव हुँदा नेपाल सरकारले मित्रराष्ट्र भारतलाई चारवटा एकसिंगे गैंडा उपहार दिई सोह्रवटा हात्ती लिएको थियो। साथै जंगली बच्चा हात्ती समातेर पालन–पोषण गरिएको, थाइल्यान्डबाट हात्ती उपहार लिइएको र तराईका महाजनसँग हात्ती खरिद गरिएको तथ्यांक पनि छन्।

हाल नेपाल सरकारको संरक्षणमा रहेका १०५ हात्तीमध्ये ७६ वटा नेपालमै जन्मिएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षणमा रहेका सात हात्तीमध्ये दुई नेपालमै जन्मिएका हुन्। निजी क्षेत्रका ७३ हात्तीमध्ये १३ नेपालमै जन्मिएका छन्। समग्रमा नेपालमा रहेका १८५ पालुवा हात्तीमध्ये ९१ वटा नेपालमै जन्मिएका हुनु सकारात्मक संकेत हो।यदि जंगली हात्तीको संरक्षण हुन सकेको थिएन भने आगामी एक–दुई दशकभित्र हात्ती चिडियाखाना र मूर्तिमा मात्र सीमित हुने खतरा थियो। जंगली हात्ती र उत्पादनयोग्य पालुवा पोथी हात्तीको संरक्षण मानव जीवनको सुरक्षासँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ।आपतकालीन अवस्था, बाढी, समस्याग्रस्त वन्यजन्तु नियन्त्रण, सुरक्षा–संरक्षण र पर्यटन सुरक्षामा हात्तीको भूमिका आज पनि अपरिहार्य छ। त्यसैले सरकारी वा निजी भनी विभाजन नगरी संरक्षण गर्न सके मात्र हात्तीको अस्तित्व दीर्घकालीन हुनेछ र भावी पुस्तालाई हस्तान्तरण गर्न सकिनेछ।कुनै समय हात्ती आयात गर्नुपर्ने अवस्थामा रहेको नेपाल आज जंगली हात्तीको संरक्षण र प्रजननका कारण कतारलाई दुई वटा हात्ती उपहार दिन सक्ने अवस्थामा पुगेको छ। यो नेपाली संरक्षण प्रयासको उपलब्धि र गर्वको विषय हो।तर विश्वव्यापी रूपमा हात्तीको संख्या घट्दै गएको वर्तमान अवस्थामा जंगली र पालुवा दुवै प्रकारका हात्तीको संरक्षणमा साझा प्रयास आवश्यक छ। नेपाल सरकार, वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, संरक्षणकर्मी र समुदाय सबैले सहकार्य गर्न सके मानव–हात्ती द्वन्द्वका समस्या र क्षति घटाउन सकिने देखिन्छ।विगत २५ वर्षदेखि हात्ती र वन्यजन्तुसँग काम गरेको अनुभवका आधारमा जंगली हात्तीलाई नियन्त्रण वा समातेर पालुवा बनाउनु अत्यन्तै जोखिमपूर्ण र कठिन काम मानिन्छ। सरकारले गरेका प्रयासले केही हदसम्म क्षति घटाएको भए पनि समस्या पूर्ण रूपमा समाधान भएको छैन।त्यसैले समस्याग्रस्त हात्तीको पहिचान अत्यन्तै आवश्यक छ। कुनै हात्ती उमेरसँगै शान्त हुन सक्छ भने नयाँ हात्ती समस्याग्रस्त बन्न सक्छन्। हात्तीको विचरण क्षेत्र पहिचान गरी उनीहरूलाई मन पर्ने घाँस रोप्ने, र्‍यापिड रेस्पोन्स टिम गठन गरी बानी–व्यवहार निगरानी गर्ने र बस्ती प्रवेश रोक्ने प्रयास आवश्यक छ।कहिलेकाहीँ यस्ता प्रयास पर्याप्त नहुन सक्छन्। त्यस्तो अवस्थामा समुदायलाई ‘हात्ती हाम्रो क्षेत्रमा आएको होइन, यो यसको पुर्ख्यौली मार्ग हो’ भन्ने तथ्य बुझाएर सह–अस्तित्वको अभ्यास गर्न सकिए क्षति कम गर्न सकिन्छ।

विश्वमा उपलब्ध प्रविधि—रियल टाइम कलरिङ, डार्टमार्फत शान्त पार्ने औषधि, आवश्यक परे हर्मोन प्रयोग गरी बन्ध्याकरण—जस्ता उपाय नेपालमा प्रभावकारी रूपमा प्रयोग गर्न सके मानव–हात्ती द्वन्द्व घटाउन सकिन्छ। तर ४–६ टन तौल भएका हात्तीलाई स्थिर बनाउँदा ढल्ने क्रममा हुने जोखिमका कारण कलरिङ प्रक्रिया चुनौतीपूर्ण छ।पालिएका हात्तीमा खानपानको समस्या कम भए पनि माहुतहरू विभिन्न समस्याबाट पीडित छन्। ३६५ दिन निरन्तर काम, जोखिमपूर्ण वातावरण, सीमित सुविधा र कहिलेकाहीँ आफ्नै हात्तीबाट ज्यान जाने घटना यस पेशालाई चुनौतीपूर्ण बनाइरहेका छन्। माहुतको सम्मान, सुविधा र आत्मबल बढाउनु हात्ती संरक्षणकै अङ्ग हो।निजी हात्तीहरू मुख्यतः पर्यटनसँग जोडिएका छन्। २०७० सालतिर करिब १४० पुगेको निजी हात्ती संख्या घटेर अहिले करिब ७३ मा सीमित छ। तीमध्ये आधाजति मात्र सक्रिय रूपमा प्रयोगमा छन्। हात्ती पालन खर्चिलो भएकाले आम्दानी बिना निजी पालकका लागि सम्भव हुँदैन।सरकारी स्तरबाट निजी हात्तीलाई एकीकृत गरी जंगल नजिक व्यवस्थापन गर्ने प्रयास सकारात्मक छ। उचित स्थान छनोट गरी पालन–पोषण र प्रजनन कार्यक्रम थाल्न सके पर्यटन, संरक्षण र नवसन्तान उत्पादनमा ठूलो योगदान पुग्नेछ।

अन्ततः सरकारी र निजी भनी विभाजन नगरी हात्तीको कल्याण, संरक्षण र दिगो व्यवस्थापनका लागि साझा प्रयास अपरिहार्य छ। हात्तीलाई सहज काममा लगाउने, नियमित स्वास्थ्य परीक्षण, उचित आहार, माहुतको सम्मान र बुढा–असक्त हात्तीको विशेष स्याहार सुनिश्चित गर्न सके मात्र नेपालमा हात्तीको भविष्य सुरक्षित रहनेछ।

Please Login to comment in the post!

you may also like