• Saturday, June 21, 2025

सेवा अबरुद्ध गर्ने वायु सेवा अध्यक्षलाई पर्यटनमन्त्रीको सात दिने स्पष्टीकरण


सेवा अवरुद्ध हुने गरी एकैपटक दुईवटै वाइड बडी जहाज सी-चेकका लागि पठाइएको सम्बन्धमा सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिस्तरीय निर्णयानुसार सेवा अवरुद्ध हुने गरी एकैपटक दुईवटै वाइडवडी जहाज सी-चेकका लागि पठाइएको सम्बन्धमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले ७ दिने समयसीमा सहित स्पष्टीकरण मागेका हुन्।

मन्त्रालयले निगममा नियमित रूपमा कमजोरी एवं लापरवाही दोहोरिनु र व्यावसायिक कार्यसम्पादनस्तर कमजोरी भन्दै स्पष्टीकरण मागेको हो।  निगम नेतृत्वले नेपालको उपस्थिति कायम राख्दै सुरक्षित, मर्यादित, प्रतिस्पर्धी र मुनाफायोग्य बनाउनुपर्ने भए पनि अध्यक्षको लापरबाही, अक्षमता र कमजोरीका कारण निगमको साख गुमेको सरकारले बताएको छ।

अध्यक्ष अधिकारीलाई मन्त्रालयले ११ वटा प्रश्नको वस्तुगत आधार, कारण र प्रमाणसहित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ। मन्त्रालयले अधिकारीसँग दुई जहाजको सी–चेकका लागि काम गर्न नसक्ने कम्पनीलाई किन छानेको भनी प्रश्न गरेको छ।

साथै यसबाट निगमलाई पुगेको क्षतिको जिम्मेवार पनि अधिकारी हुनुपर्ने र सी–चेकका लागि भिसा अवधि सकिन लागेका प्राविधिक पठाएर पुनः फिर्ता बोलाई अर्को टोली पठाउँदा निगमलाई पुगेको क्षतिबारे पनि मन्त्रालयले प्रश्न गरेको छ।

जहाजहरूको नियति चेक जाँचको व्यवस्था नगर्नु, पर्यटक आवागमनको प्रमुख समय र चाडपर्वका वेला ग्राउण्डेड गर्दा निगमलाई पुगेको घाटा, समयमा उडान नगरेबापत विभिन्न देशमा तिर्नुपरेको जरिवानाको स्पष्ट विवरण, गत वर्ष निगमको दुबई स्टेशनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई–मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा (करिब २ करोड) नोक्सानी व्यहोर्नुपरेको भन्ने विषयमा समेत प्रश्न गरेको छ।

Please Login to comment in the post!

you may also like