काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १०० रुपैयाँ दरका नयाँ नोट बजारमा सञ्चालनमा ल्याएको छ। विशेष सुरक्षा प्राविधि र पहिचानमध्ये सुधारसहित जारी गरिएको यो नयाँ नोट पहिलेकै आकार र रङमा भए पनि संरचना र सुरक्षाका पक्षमा थप उन्नत रहेको राष्ट्र बैंकले जनाएको छ।
नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आए नेपाल राष्ट्र बैंकबाट एक सय रुपैयाँ तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा वाक्यांश यथावत् छ। बायाँ भागमा सगरमाथाको तस्बिर, दायाँ भागमा लालीगुराँसको पानीछाप तथा बीचमा नेपालको नक्सा र अशोक स्तम्भ अंकित गरिएको छ।
नयाँ नोटलाई दृष्टिविहीनमैत्री बनाइएको छ, जसअन्तर्गत अशोक स्तम्भसँगै रहेको कालो थोप्लाले छामेरै पहिचान गर्न सकिने सुविधा प्रदान गर्छ। बायाँतर्फ अन्डाकारभित्र सिल्भर मेटालिक स्वरूपमा मायादेवीको चित्र पनि समावेश गरिएको छ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत छ भने तल्लो भागमा नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको सिरिज नम्बर राखिएको छ। सुरक्षाका लागि २ मिमि चौडाइको सुरक्षा धागो प्रयोग गरिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रंग देखिन्छ।
नयाँ नोट चलनमा आएको राष्ट्र बैंकले औपचारिक रूपमा सार्वजनिक जानकारी गराएको छ।