काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पछिल्लो समय राजनीतिक सक्रियता उल्लेख्य रूपमा बढाएका छन् । आफ्नै नेतृत्वमा नयाँ दल गठन गर्ने तयारीअनुसार उनले विभिन्न राजनीतिक दलका नेता, सञ्चारकर्मी, जेन–जी अगुवा, कलाकारलगायत व्यक्तिसँग छलफल थालेका छन् । यही क्रममा ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म उनले अलग–अलग र सामूहिक छलफल गरेका थिए । ती छलफल आज पनि निरन्तर रहने स्रोतले जनाएको छ ।
बुधबार रातिको छलफलमा राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टका प्रतिनिधि तथा केही सञ्चारकर्मी सहभागी थिए । स्रोतका अनुसार नागरिक उन्मुक्तिका नेता रेशमलाल चौधरी, मिलन पाण्डे, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल, सञ्चारकर्मी सुरजसिंह ठकुरी र ऋषि धमलासमेत छलफलमा सहभागी थिए । कांग्रेस नेता चन्द्र भण्डारीले पनि बालेनसँग भेटघाट गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आए पनि उनले भने आफूले बालेनलाई नभेटेको स्पष्ट पारेका छन् ।नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले बुधबार राति बालेनसँगको छलफलमा सहभागी भएको स्वीकार गर्दै पुराना दलको विकल्पमा नयाँ शक्तिहरूलाई एकीकृत गरेर अघि बढ्ने प्रस्ताव बालेनले राखेको बताए । ‘नयाँ शक्तिहरू एक भएर चुनावमा जाऔं भन्ने प्रस्ताव थियो, प्रारम्भिक छलफल भएको हो र यसलाई निरन्तरता दिने कुरा भएको छ,’ उनले भने ।यसअघि सोमबार बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । सो छलफलबाट ठोस निष्कर्ष ननिस्किएपछि उनले बुधबार अन्य राजनीतिक तथा सामाजिक पात्रहरूसँग छलफललाई तीव्र बनाएको स्रोतको भनाइ छ । छलफलमा सहभागीहरूका अनुसार बालेन आफ्नै नेतृत्वमा दल बनाउने मनस्थितिमा देखिएका छन् । ‘देश विकास पार्टीको नेतृत्व आफैंले गर्ने र लौरो चुनाव चिह्नबाट चुनाव लड्ने उनको चाहना देखियो,’ एक सहभागीले बताए ।
हाल देश विकास पार्टीको अध्यक्ष सन्ध्या खनाल रहेकी छन् । यसअघि इन्जिनियर अनन्तराज घिमिरे नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’लाई परिमार्जन गरी ‘देश विकास पार्टी’ बनाइएको हो । उक्त पार्टीको चुनाव चिह्न लौरो नै कायम छ, जसबाट बालेनले काठमाडौं महानगरपालिकाको मेयर चुनाव जितेका थिए ।बुधबारको छलफलले बालेनले रवि लामिछानेको नेतृत्व स्वीकार नगर्ने संकेत गरेको सहभागीहरूले बताएका छन् । ‘रविसँग छलफल भए पनि पार्टीको नेतृत्व आफैंले गर्ने, अरूको नेतृत्वमा नजाने भन्ने कुरा स्पष्ट देखियो,’ एक नेताले बताए । यसअघि कमलपोखरीको छलफलमा रविले पार्टी नेतृत्व आफूले गर्ने र सरकारको नेतृत्व बालेनले गर्ने प्रस्ताव राखेको चर्चा भए पनि त्यसमा ठोस सहमति हुन सकेको थिएन ।छलफलमा सहभागी पत्रकार ऋषि धमलाका अनुसार बालेनले आगामी चुनावमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने बताएका छन् । सो क्षेत्र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । धमलाका अनुसार बालेनले आफूलाई प्रत्यक्ष वा समानुपातिक कुन बाटोबाट चुनाव लड्ने भन्ने प्रश्नसमेत गरेका थिए । बालेनसँगको छलफल आज पनि जारी रहने सहमति गरेर आफूहरू छुट्टिएको धमलाले जानकारी दिए ।