जनकपुरको तिरहुतिया गाछीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्घोष सभा गरेको एक महिनापछि बुधबार नेपाली कांग्रेसले प्रतिज्ञा सभा गरिरहँदा राजनीतिक भाषण शैलीबारे नयाँ बहस सुरु भएको छ। रास्वपाले गत माघ ५ गते जनकपुरबाट चुनावी अभियान थालेको थियो, जहाँ वरिष्ठ नेता बालेन शाहले करिब १० मिनेटमै आफ्नो सम्बोधन टुंग्याएका थिए। आफूलाई ‘मधेसी छौरा’ भन्दै मैथिली भाषामा गरिएको उनको छोटो तर प्रभावकारी सम्बोधनले उपस्थित नागरिकको ध्यान खिचेको थियो।त्यसको केही समयपछि धनगढीमा आयोजित सभामा पनि बालेनले करिब साढे तीन मिनेटमै आफ्नो भनाइ सकाए। “रास्वपा यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो,” भन्दै उनले सुदूरपश्चिमलाई ‘सु–नजिक प्रदेश’ बनाउने प्रतिबद्धता जनाए। छोटो समयमै सन्देश दिने उनको शैलीले सभामा उपस्थितलाई आश्चर्यचकित बनाएको थियो।
परम्परागत रूपमा नेपाली राजनीतिक दलका नेताहरू लामो र लम्बेतान भाषणका लागि परिचित मानिन्छन्। चुनावी सभा होस् वा आन्तरिक बैठक, घण्टौं बोल्ने अभ्यास पुराना दलका नेताहरूमा सामान्यजस्तै बनेको छ। कार्यकर्ताले पनि दिनभरि समय छुट्याएर भाषण सुन्नुपर्ने बाध्यता झेल्दै आएका छन्। तर बालेनले छोटो, स्पष्ट र सन्देशमुखी सम्बोधनमार्फत भाषण संस्कृतिमै ‘ब्रेक’ लगाउने प्रयास गरेका छन्।राजनीतिक विश्लेषकहरूका अनुसार छोटो र प्रभावकारी भाषण गर्न थप तयारी र स्पष्ट दृष्टिकोण आवश्यक पर्छ। बालेनको यो शैलीले वर्षौंदेखि चल्दै आएको लम्बेतान भाषणको परम्परालाई चुनौती दिएको छ। चुनावी सभामा दुईपटक मात्र बोलेका उनले दुबैपटक सीमित समयमै आफ्नो एजेन्डा प्रष्ट राखे।
लामो भाषण सधैं अनुपयुक्त नहुन सक्छ, तर समयको मागअनुसार संक्षिप्त, सारगर्भित र परिणाममुखी अभिव्यक्ति नै प्रभावकारी हुने देखिएको छ। बालेनको यो अभ्यासले नेपाली राजनीतिमा नयाँ सन्देश दिएको छ—कुरा धेरै होइन, कामको प्रतिबद्धता स्पष्ट हुनुपर्छ।