नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावी सभामार्फत प्रत्येक नेपाली नागरिकलाई सम्मानित जीवन बिताउने अवसर सुनिश्चित गर्दै देशको समग्र विकास गर्ने आफ्नो स्पष्ट भिजन सार्वजनिक गरेका छन्। भाषणको सुरुवात नै मैथिली भाषाबाट गर्दै उनले मधेशसँगको आत्मीय सम्बन्ध र सांस्कृतिक सम्मान प्रकट गरे। विगत ३० वर्षमा राजनीतिक अस्थिरता, कमजोर कार्यान्वयन र नीतिगत अस्पष्टताका कारण पूरा हुन नसकेका विकासका काम अब कांग्रेस नेतृत्वको सरकारले पाँच वर्षभित्रै सम्पन्न गर्ने दाबी गर्दै उनले आफू केवल नेता नभई मधेशको ‘बेटा’ बन्न आएको उल्लेख गरे। दुर्गानन्द झा र कामेश्वर कुशेश्वरप्रति सम्मान व्यक्त गर्दै सर्लाही–४ बाट उम्मेदवार बनेको प्रसंग उठाउँदै उनले मधेश र कांग्रेसबीचको सम्बन्ध ऐतिहासिक र भावनात्मक दुवै रहेको बताए। चुनाव जित्नका लागि मात्र नभई मधेशसहित देशको समग्र अवस्था सुधार गर्ने उद्देश्यले आफू मैदानमा उत्रिएको उनको भनाइ थियो।
थापाले आफ्नो राजनीतिक दृष्टिकोणको केन्द्रमा ‘सम्मानित जीवन’को अवधारणा राखे। उनका अनुसार प्रत्येक नेपालीले सम्मानका साथ बाँच्न पाउने, आफ्ना सपना देख्न र ती सपना आफ्नै देशमा साकार पार्न सक्ने वातावरण निर्माण गर्नु नै कांग्रेसको प्राथमिकता हुनेछ। कृषिलाई आर्थिक विकासको मेरुदण्डका रूपमा प्रस्तुत गर्दै उनले नेपाललाई आत्मनिर्भर बनाउने, स्वदेशी उत्पादनलाई विश्व बजारसम्म पुर्याउने र आयात प्रतिस्थापनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य सुनाए। मधेश अन्नको भण्डार हुँदाहुँदै पनि वार्षिक अर्बौँ रुपैयाँबराबरको खाद्यान्न तथा फलफूल आयात भइरहेको अवस्थालाई उनले विडम्बना भन्दै कृषि आधुनिकीकरण, प्रविधिको प्रयोग र बजार व्यवस्थापनमार्फत रोजगारी सिर्जना र समृद्धि सम्भव रहेको बताए। किसानमैत्री नीति, सिँचाइ विस्तार, भण्डारण र प्रशोधन उद्योग स्थापना तथा सहकारी प्रणालीलाई पारदर्शी बनाउने योजनाले ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउने उनको विश्वास थियो।
शिक्षा क्षेत्रमा बोल्दै उनले कुनै समय शैक्षिक रूपमा अग्रणी रहेको मधेश प्रदेशको अवस्था अहिले कमजोर बनेको उल्लेख गरे। विशेषगरी गणित र विज्ञान विषयको अध्ययन–अध्यापन सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सूचना प्रविधिको युगमा पनि मधेशका युवाहरू रोजगारीबाट वञ्चित हुनु नहुने बताए। शिक्षामा गरिएको लगानी परिणाममुखी बनाउन, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिन र गरिब तथा किसान परिवारले छोराछोरी पढाउन ऋण लिन नपर्ने व्यवस्था गरिने प्रतिबद्धता उनले जनाए। “नेपाललाई छोराछोरी पढाउँदा ऋण लिन नपर्ने र उपचार गर्दा डर नलाग्ने देश बनाउनेछौँ,” भन्ने उनको भनाइले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा सुधारको संकेत गरेको थियो। स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय सेवा विस्तार र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था उनको प्राथमिकतामा परेको देखिन्छ।
थापाले नेपालको मौलिकता जोगाउँदै आधुनिक विकासको बाटो समाउने आवश्यकता औँल्याए। आर्थिक गतिविधिमा पारदर्शिता र वित्तीय अनुशासन कायम गर्नुपर्ने उल्लेख गर्दै उनले मधेशको वित्तीय सन्तुलन बिग्रिएको अवस्थाप्रति चिन्ता व्यक्त गरे। मिटरब्याज, लघुवित्त र सहकारी ठगी नियन्त्रण गर्न कांग्रेस अग्रसर हुने प्रतिबद्धता जनाउँदै उनले आर्थिक शोषणविरुद्ध कडा कदम चाल्ने संकेत दिए। ग्रामीण तथा निम्नआय वर्गका नागरिकलाई आर्थिक जालोबाट मुक्त गराउँदै उत्पादनमुखी क्षेत्रमा लगानी बढाउने योजना प्रस्तुत गर्दै उनले सामाजिक न्याय र आर्थिक अवसरलाई सँगसँगै अघि बढाउने धारणा व्यक्त गरे। उनका अनुसार कांग्रेस सुविधामा जन्मिएको पार्टी होइन, संघर्ष र त्यागबाट निर्माण भएको शक्ति हो, जसले घृणा होइन प्रेम, निषेध होइन समावेशी बाटोबाट देशलाई समृद्ध बनाउने लक्ष्य राखेको छ।
देश निर्माणमा सबै दल र सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले नेतृत्व भने कांग्रेसले लिनुपर्ने धारणा राखे। स्थायित्व, नीतिगत स्पष्टता र परिपक्व राजनीतिक संस्कृतिका लागि कांग्रेसजस्तो अनुभवी शक्ति आवश्यक रहेको उनको तर्क थियो। उपसभापति विश्वप्रकाश शर्माले विगतका कमजोरी सच्याउँदै कांग्रेस चुनावमा होमिएको बताएका छन्। “हामी सुधारिएर अनुमोदन हुन आएका छौँ,” भन्दै उनले निर्वाचन मात्रैले परिवर्तन सम्भव नहुने, पार्टी आफैँ बदलिएर आएको दाबी गरे। उपसभापति पुष्पा भुसालले सुशासन, पारदर्शिता र युवाको आकांक्षा पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताइन्। पूर्वउपसभापति तथा धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधिले संविधान र लोकतन्त्रको रक्षा तथा राजनीतिक स्थायित्वका लागि प्रतिनिधिसभामा कांग्रेसको बहुमत अपरिहार्य रहेको बताए।
यसअघि कांग्रेसले सुशासन, समृद्धि र समावेशी विकासमा केन्द्रित १० बुँदे भिजन तथा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरिसकेको छ भने विस्तृत प्रतिज्ञापत्र राष्ट्रिय सभागृहबाट सार्वजनिक गरिने जनाएको छ। गगन थापालाई प्रधानमन्त्री बनाउन पार्टीभित्र तय गरिएको रणनीतिअनुसार घर–घर पुगेर मतदाता भेट्ने, उनीहरूका प्रश्न सुन्ने, विगतमा कांग्रेस नेतृत्वमा भएका परिवर्तनबारे स्पष्ट जवाफ दिने र पार्टी सुधारिएको सन्देश जनतामाझ पुर्याउने योजना अघि सारिएको छ। अरू दलको आलोचना होइन, आफ्ना एजेन्डामार्फत मतदाता रिझाउने, स्थायित्वका लागि परिपक्व शक्ति आवश्यक रहेको बुझाउने र संविधान संशोधनमार्फत मधेशका मुद्दा सम्बोधन गरिने आश्वासन दिने रणनीति कांग्रेसले अपनाएको छ। “सबभन्दा पुरानो पनि कांग्रेस र सबभन्दा नयाँ पार्टी पनि कांग्रेस हो” भन्ने सन्देशमार्फत ऐतिहासिक विरासत र समसामयिक रूपान्तरण दुवैलाई जोड्ने प्रयास गरिएको देखिन्छ। अप्ठ्यारोको सामना गर्दै अघि बढ्ने शक्ति नै कांग्रेस भएको दाबी गर्दै थापाले मधेशसँग नयाँ राजनीतिक संवाद र राष्ट्रिय स्तरमा सम्मानित जीवनको आधार निर्माण गर्ने प्रतिज्ञा दोहोर्याए।