• Saturday, June 21, 2025

रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोगपत्र दर्ता


काठमाडाैं। जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
लामिछानेविरुद्ध जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरिएको हो ।  सहकारी ऐन २०७४ को दफा १ सय २४ अनुसार १० करोडभन्दा बढी १ अर्बसम्म बिगो भएकाले लामिछानेलाई ६ देखि ८ वर्ष कैद सजाय पनि हुन सक्छ । यसबाहेक उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरिएको छ । जसअनुसार उनलाई प्रचलित कानुनको अतिरिक्त ५० प्रतिशत थप सजाय पनि हुन सक्छ ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर करिब १ महिनाअघि पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाउपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
सोही मुद्दामा छविलाल जोशीसँग ७ करोड २० लाख बिगो, सहकारी ऐनअनुसार बिगोबमोजिम सजाय र जरिवाना तथा संगठित अपराध नियन्त्रण ऐनअनुसार थप सजायसमेत माग गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।
सानो पाइला सहकारीबाट जति रकम विभिन्न व्यक्तिले लगेका छन् त्योभन्दा बढी काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था एक्लैले लगेको पाइएको थियो । सानो पाइलाबाट उक्त सहकारीको खातामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपैयाँ ट्रान्सफर भएको छ । वीरगन्ज–६ आदर्शनगरमा कार्यालय स्थापना गरी सन्चालन गरिएको सानो पाइला सहकारीले स्थानीय ५ हजार ८ सय ७३ बचतकर्ताको कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ अपचलन गरेको प्रहरीले यकिन गरेको थियो ।
 २०८० साउन २१ गते नाजनिन बेगमसहित ५२ बचतकर्ताले ४ करोड ३४ लाख २४ हजार २३ रुपैयाँ सानो पाइला सहकारीले अपचलन गरेको दाबीसहित जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए । त्यसपछि विशाल सहनी गोढीसमेत २ सय ७ बचतकर्ताले आफूहरूको ४ करोड ५८ लाख १४ हजार ४ सय २१ रुपैयाँ अपचलन भएको दाबी सहित २०८० भदौ २२ गते जाहेरी दिएका थिए । २०८१ फागुन २ मा मनिषकुमार सिस्कासमेत १ सय ७९ बचतकर्ताले आफूहरुको २४ करोड ५८ लाख ३१ हजार ९ सय २८ रुपैयाँ अपचलन भएको दाबीसहित जाहेरी दरखास्त दिएका थिए ।
 सानो पाइला सहकारीको हकमा सुरुमा जाहेरी दर्ता भएपछि प्रहरीले सहकारीको रकम अपचलनमा मात्र अनुसन्धान गरेकोमा पछि संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरेको थियो । प्रहरीले सानो पाइला सहकारीको अडिट रिपोर्ट, डे बुक, भौचर, जीसीएस नामक सफ्टवेर आदि संकलन गरी सुक्ष्म अनुसन्धान गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २०८१ चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालत रूपन्देहीले १३ माघ ०८१ मा एक करोड रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश उच्चले बदर गरेको हो ।

Please Login to comment in the post!

you may also like