अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको सम्भावित शान्ति सम्झौतासम्बन्धी “मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ” (एमओयू) लगभग तयार भइसकेको बताएका छन्। अमेरिका, इरान तथा मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले पनि वार्तामा सकारात्मक प्रगति भएको जनाएको छ।ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त सम्झौताले विश्व ऊर्जा बजारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य पुनः खुलाउने बताएका छन्। फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण यो समुद्री मार्ग प्रभावित भएको थियो।ट्रम्पले सम्झौताका सबै बुँदाहरू खुलाएका छैनन्। उनले भने, “सम्झौताका अन्तिम पक्ष र विवरणहरूबारे अहिले छलफल भइरहेको छ, छिट्टै सार्वजनिक गरिनेछ।”
तर इरानी समाचार संस्था फार्स ले आइतबार बिहान ट्रम्पको दाबी “यथार्थसँग मेल नखाने” प्रतिक्रिया दिएको छ। उक्त संस्थाका अनुसार, प्रस्तावित सम्झौताले हर्मुज जलडमरूमध्यको व्यवस्थापन इरानलाई दिने सम्भावना रहेको छ।यसअघि शनिबार इरानले पाकिस्तानका सेना प्रमुख असिम मुनिरसँग उच्चस्तरीय भेटवार्ता गरेपछि युद्ध अन्त्यतर्फको समझदारी तयार पार्ने प्रयास भइरहेको जनाएको थियो। पाकिस्तानी सेनाले वार्तामा “उत्साहजनक प्रगति” भएको बताएको छ।
ट्रम्पले शनिबार एक्सियोस लाई दिएको अन्तर्वार्तामा आइतबारसम्म इरानमाथि पुनः आक्रमण गर्ने वा नगर्ने निर्णय लिने बताएका थिए। उनले भने, “या त राम्रो सम्झौता हुन्छ, होइन भने म ठूलो कारबाही गर्नेछु।”पाकिस्तानी स्रोतका अनुसार अमेरिकाले यो समझदारी स्वीकार गर्ने निश्चित छैन। यदि स्वीकार गरियो भने ईदको बिदापछि थप औपचारिक वार्ता अघि बढ्नेछ।यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले कहिल्यै आणविक हतियार राख्न नपाउने, हर्मुज जलडमरूमध्य बिना अवरोध खुला हुनुपर्ने तथा समृद्ध युरेनियम हस्तान्तरण गर्नुपर्ने अमेरिकी अडान दोहोर्याएका छन्।
इरानले भने आफूले आणविक हतियार नबनाइरहेको दाबी गर्दै शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम प्रशोधन गर्ने अधिकार रहेको बताएको छ। साथै उसले आफ्ना बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउन तथा तेल निर्यातमाथिका प्रतिबन्ध हटाउन माग गरेको छ।इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाएईले विवाद केही कम हुँदै गएको संकेत गरे पनि अझै महत्वपूर्ण विषयहरूमा छलफल जारी रहेको बताएका छन्। उनले विशेष रूपमा नयाँ अमेरिकी आक्रमणको खतरा अन्त्य हुनुपर्ने र लेबनानको द्वन्द्व समाधान हुनुपर्ने बताएका छन्।इरानका वरिष्ठ नेता मोहम्मद बाघेर कालीबाफले इरानले आफ्नो “वैध अधिकार” कूटनीति र युद्ध दुवै माध्यमबाट सुरक्षित गर्ने बताएका छन्। उनले अमेरिका फेरि युद्धमा फर्किए “अझ कडा प्रतिक्रिया” आउने चेतावनी पनि दिएका छन्।लामो द्वन्द्वका बाबजुद इरानले आफ्नो उच्चस्तरीय युरेनियम भण्डार, मिसाइल, ड्रोन तथा क्षेत्रीय सहयोगी क्षमताहरू जोगाइराखेको बताइएको छ।