प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसमा टिकट वितरण र समग्र विवादमा आंशिक सहमति पुगेको छ । पार्टीभित्रको आन्तरिक छलफलपछि विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई सभापति मानेर उनको हस्ताक्षरमा टिकट लिन देउवा पक्ष तयार भएको छ । साथै, दुवै पक्षले सर्वोच्च अदालतको निर्णयलाई अन्तिम मान्ने सहमति जनाएका छन् ।
आइतबार र सोमबार चरणबद्ध छलफलपछि कांग्रेसको देउवा–कोइराला समूह (इतर समूह) र संस्थापन पक्षबीच आंशिक सहमति बनेको हो । निर्वाचन आयोगले सभापति थापालाई मान्यता दिएको निर्णयअनुसार देउवा पक्षले टिकट लिन थालेको छ । तर, सोमबार रातिसम्म पार्टीभित्र सम्पूर्ण निर्वाचन क्षेत्रको टिकट बाँडफाँड टुङ्गोमा पुगेको छैन ।सहमति अनुसार, विशेष महाधिवेशनबाट निर्वाचित र निर्वाचन आयोगद्वारा मान्यता प्राप्त सभापति थापालाई सभापति मान्ने निर्णय भए पनि देउवा पक्षले सर्वोच्चमा दायर गरेको रिट फिर्ता नलिने स्पष्ट पारेको छ । कांग्रेस नेता मीन विश्वकर्माका अनुसार, “अहिलेको निर्वाचन आयोगको निर्णयअनुसार सभापति गगन थापालाई सभापतिका रूपमा मान्ने र रुख चिह्नमा टिकट लिएर उम्मेदवारी दर्ता गर्ने सहमति भएको छ। सर्वोच्चले जे फैसला वा आदेश दिन्छ, त्यसलाई सबैले स्वीकार गर्ने सहमति छ।”संस्थापन पक्षबाट नेता मधु आचार्य र देवराज चालिसे तथा देउवा पक्षबाट नेता बालकृष्ण खाण र शेखर समूहबाट डा. मीनेन्द्र रिजालबीच आइतबार र सोमबार छलफल भएको थियो । सोमबार देउवा पक्षले आफ्नातर्फका उम्मेदवारको सूची पनि संस्थापन पक्षलाई बुझाएको थियो ।
तर, समूहगत रूपमा टिकट वितरण गर्न सभापति थापाले तयार नभएको कारणले आंशिक सहमति मात्रै भएको छ। थापानिकट एक पदाधिकारीले भने, “समूहगत रूपमा टिकट टुंग्याउन चाहियो भने सर्वोच्चमा दायर रिट फिर्ता लिनुपर्छ। नभए हामी व्यक्तिगत रूपमा उम्मेदवारहरूसँग कुरा गरेर निर्णय गर्छौं। जीत सुनिश्चित हुने र राम्रो छवि भएका साथीहरूलाई मात्र समेट्ने, तर सामूहिक सौदाबाजी हुँदैन भन्ने कुरा स्पष्ट छ।”संस्थापन पक्षले देउवानिकट नेता विमलेन्द्र निधिलाई धनुषा–३, ज्ञानेन्द्र कार्कीलाई सुनसरी–४, विजय गच्छदारलाई सुनसरी–३, डा. प्रकाशशरण महतलाई नुवाकोट–१, एन.पी. साउदलाई कञ्चनपुर–२ बाट टिकट दिएको छ । शेखर कोइराला समूहका नेता डा. सुनील शर्मा र डा. गोविन्दराज पोखरेल मोरङ–३ र प्युठानबाट उम्मेदवार बनेका छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट रामहरि खतिवडालाई ओखलढुंगाबाट टिकट दिइएको छ ।नेता खड्कालाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन सभापति थापा र उपसभापति शर्माले सोमबार अनुरोध गरेका थिए, तर सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले नैतिक कारणले उनले उम्मेदवारी दिन अस्वीकार गरेका थिए । संस्थापन पक्षले देउवानिकट नेताहरू दीपक खड्का, मोहन बस्नेत, बालकृष्ण खाण, रमेश लेखक र आरजु राणा देउवालाई टिकट नदिने निर्णय पहिल्यै स्पष्ट पारेको थियो ।संस्थापन पक्षका नेताहरूका अनुसार पूर्वसभापति देउवा मुद्दा फिर्ता गराउन सकारात्मक थिए, तर ढिला जवाफ आएपछि प्रक्रिया अघि बढाइएको थियो । यद्यपि, देउवाका सचिव भानु देउवाले सञ्चारकर्मीलाई पठाएको सन्देशमा मुद्दा फिर्ता नहुने र अदालतबाट निष्पक्ष न्याय हुने अपेक्षा रहेको बताएका छन् ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको निर्णय सबैले स्वीकार्य हुने स्पष्ट पारेका छन्। उनले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारको टिकट वितरण प्रक्रियामा आफू सहभागी नभएको पनि प्रस्ट पारेका छन्। खड्काले भनेका छन्, “कांग्रेसको तर्फबाट १६५ निर्वाचन क्षेत्रका उम्मेदवारको टिकट वितरणसम्बन्धी कुनै बैठक वा प्रक्रियामा म सहभागी भएँ छैन, र मलाई कुनै जानकारी पनि छैन। कसैमा भ्रम नहोस्।”यसैबीच, पार्टीभित्र टिकट वितरणमा आंशिक सहमति भए पनि पूर्ण सहमति नभएपछि प्रत्येक पक्ष आफ्नै तरिकाले उम्मेदवारको छनोट गर्दैछ । देउवा–कोइराला समूहले सर्वोच्च अदालतको निर्णयको पालना गर्ने र गगन थापालाई सभापति मानेर उम्मेदवारी दर्ता हुने प्रक्रिया अघि बढाउने सहमति जनाएको छ। यस्तो अवस्थामा, पार्टीभित्रको अन्तरिक विवाद स्थायी रूपमा समाधान नभएसम्म निर्वाचन तयारीले आंशिक ढाँचा मात्रै लिने देखिन्छ ।कांग्रेसमा आन्तरिक सहमति र सर्वोच्चको अन्तिम निर्णयको सम्मान गर्ने स्पष्ट संकेतले पार्टीको एकता र आगामी निर्वाचनमा रणनीति निर्धारणमा महत्वपूर्ण भूमिका खेल्नेछ। प्रतिनिधिसभा निर्वाचनको टिकट बाँडफाँड र आन्तरिक छलफलले कांग्रेसभित्रको गुटीय राजनीति, सभापतिको अधिकार र सर्वोच्चको भूमिका बीचको सन्तुलनलाई उजागर गरेको छ ।