• Tuesday, March 3, 2026

नेता र अगुवाले समाजप्रति समर्पण र त्याग भावनासहित सकारात्मक काम गर्नुपर्छ : मन्त्री खरेल


ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेता तथा समाजका अगुवाहरूले शक्ति र सत्तालाई व्यक्तिगत स्वार्थका लागि होइन, समाजको हित र सकारात्मक परिवर्तनका लागि प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

ललितपुरको सातदोबाटोस्थित ओमशान्ति भवनको भ्रमणका क्रममा मन्त्री खरेलले अरूका लागि केही गर्ने भावना राख्ने व्यक्ति—चाहे उनी नेता, सत्तामा रहेका व्यक्ति वा समाजका अग्रणी नै किन नहुन्—जनताप्रति समर्पित भएर त्यागको मार्ग अपनाउनुपर्ने बताए।

उनले मानव स्वभावका कमजोरीप्रति संकेत गर्दै भने, “हामी भगवान् जस्तो त बन्न सक्दैनौँ। लोभ, मोह, क्रोध र अहंकारले हामी सबैलाई बाँधेको छ। जति प्रयास गरे पनि यी सबैबाट पूर्ण रूपमा मुक्त हुन सजिलो छैन।” मन्त्री खरेलले धार्मिक र ऐतिहासिक उदाहरण प्रस्तुत गर्दै रावण शिवका भक्त भए पनि कर्मका कारण दानवका रूपमा चित्रित भएको उल्लेख गरे।

“कुनै पनि व्यक्ति राम्रो वा नराम्रो भन्ने कुरा उसको पद, शक्ति वा आस्थाले होइन, उसले गरेका कर्मले निर्धारण गर्छ,” मन्त्री खरेलले स्पष्ट पारे। उनले समाज परिवर्तनका लागि आत्मचिन्तन, नैतिकता र सेवाभाव अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई सकारात्मक कर्मतर्फ उन्मुख हुन आह्वान गरे।

मन्त्री खरेलको भनाइले नेतृत्वमा रहने व्यक्तिहरूले जिम्मेवारीबोध, नैतिक आचरण र सेवाभावलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ।

Please Login to comment in the post!

you may also like