काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी भइरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले भने, "वैदेशिक रोजगारका नाममा ठग्ने र दुःख दिने जुनसुकै व्यक्ति वा समूहलाई कानुनी कठघरामा ल्याउनेछौँ। सुशासनको सुरुवात यहीँबाट हुन्छ।"
मन्त्री भण्डारीका अनुसार सिआइबीलाई पत्र पठाइ योजना अघि बढाइएको छ भने चेलिबेटी बेचविखन र अन्य अपराध सम्बन्धी महाशाखा समेत सक्रिय बनाइ विशेष संयन्त्र तयार गर्ने तयारी भइरहेको छ।
उनी थपे, "मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशमै परिश्रम गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ। आप्रवासन जनशक्तिको सम्मान र सदुपयोग गर्नु हाम्रो प्राथमिकता हो।"
अल्प समयका लागि मन्त्री बनेका भए पनि वैदेशिक रोजगार व्यवस्थापनलाई दिगो बनाउने उद्देश्यसहित आफू दिनरात काम गर्ने प्रतिबद्ध रहेको भण्डारीले बताए।