इटहरी। बाल्यकालदेखि हामीले सुन्दै आएको ‘खरायो र कछुवा’को दौडको कथा अब नितान्त नयाँ शैली र सन्देशसहित कोशी प्रदेशका विद्यालयहरूमा प्रदर्शन गरिएको छ। एक थिएटर नेपालको प्रस्तुति र कलालय इटहरीको सहकार्यमा तयार गरिएको यो नाटकले परम्परागत हार–जितको कथालाई परिमार्जन गर्दै ‘सहकार्य’ को नयाँ दृष्टान्त प्रस्तुत गरेको छ।
दमकमा २५ सयभन्दा बढी विद्यार्थीले अवलोकन गरिसकेको यो नाटक अहिले सुनसरीको इटहरी क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ। इटहरीका सुस्मा सेकेन्डरी स्कुल, भृकुटी स्कुल, बुल्मिङ किन्डर गार्डेन, हाम्रो बोर्डिङ स्कुल र क्रिस्टल एकेडेमी तथा झुम्काको नमुना सामुदायिक विद्यालयमा नाटक प्रदर्शन भइसकेको छ। भोलि यो नाटक विद्या आरम्भ स्कुलमा प्रदर्शन हुनेछ। विद्यालयबाहेक इटहरीका विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूले पनि यस नाटक अवलोकन गरिसकेका छन्।साथै सो नाटक आईतबारदेखि धरानमा पनि प्रदर्शन हुने,आयोजकल जानकारी गराउनु भएको छ।
नाटकले खरायो र कछुवालाई केवल प्रतिस्पर्धीको रूपमा मात्र उभ्याएको छैन। कथाको सुरुवातमा अहंकार र आत्मविश्वासको द्वन्द्व देखिए पनि अन्त्यमा उनीहरूले एक–अर्कालाई हराउनु भन्दा साथ लिएर अघि बढ्नु नै दीर्घकालीन सफलता हो भन्ने सन्देश दिन्छ। समाज, राजनीति र नेतृत्वमा देखिने अस्वस्थ प्रतिस्पर्धालाई व्यंग्य गर्दै नाटकले ‘व्यक्तिगत जितभन्दा सामूहिक सफलता ठूलो हो’ भन्ने सन्देश प्रवाह गरेको छ। यसलाई सामाजिक रूपान्तरणको सशक्त रूपकको रूपमा प्रस्तुत गरिएको छ।
नाटकको अर्को मुख्य आकर्षण यसको प्रस्तुति शैली ‘स्याडो पपेट्री’ (छाया कठपुतली) हो। प्रकाश, छाया, कागज र कार्डबोर्डका कठपुतली प्रयोग गरी पर्दा पछाडिबाट प्रस्तुत गरिने यो शैलीले विद्यार्थीहरूलाई फरक र नयाँ अनुभव दिएको छ। दृश्य, ध्वनि, ताल र शारीरिक संकेतको प्रयोगले विद्यार्थीहरूको कल्पनाशक्ति र विश्लेषण क्षमतामा वृद्धि भएको आयोजकहरूको दाबी छ।
अनिल सुब्बाको निर्देशनमा तयार भएको नाटकमा कलाकारहरूमा सौजन सेनेहाङ्ग, शिशिर गिरि, सन्जित थुलुङ, आकाश सुहाङ लिम्बू, नुमा राई र रमिता राई रहेका छन्। संगीत पक्ष प्रकृति राईले सम्हालेकी छन् भने व्यवस्थापन टिममा हिमाल निरौला, विकास श्रेष्ठ, डेभिड बिष्ट, निशान राई, ललिता विश्वकर्मा र सिपि राई रहेका छन्।
नाटकले विद्यार्थीहरूमा धैर्य, अनुशासन र सहकार्यको भावना विकास गराउँदै समाजमा एकता, सहिष्णुता र सामूहिक सफलताको सन्देश प्रवाह गरेको छ।