• Saturday, October 18, 2025

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए


यमनका प्रधानमन्त्री अहमद गालिब नासिर अल-रहावी इजरायली आक्रमणमा मारिएको हुथी विद्रोहीहरूले दाबी गरेका छन्। गाजा युद्ध सुरु भएयता वरिष्ठ तहका नेतामध्ये पहिलोपटक मारिएका कारण यो घटनालाई उनीहरूले ठूलो क्षति बताएका छन्।विद्रोही नियन्त्रित समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले यो दाबी प्रसारण गरेको हो। तर बीबीसीका अनुसार अहिलेसम्म यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।शनिबार हुथी समूहको सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मशातले प्रधानमन्त्री अल-रहावी मारिएको घोषणा गरेका थिए।आक्रमणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि, गत बिहीबार राजधानी सानामा भएको आक्रमणमा उनका केही सहयोगीहरू पनि घाइते भएको बताइएको छ। एएफपीका अनुसार, अल-रहावी अन्तिम पटक बुधबार सानामा भएको सार्वजनिक कार्यक्रममा देखिएका थिए।हुथी समूहले जारी गरेको वक्तव्यमा भनिएको छ–“हामी योद्धा अहमद गालिब नासिर अल-रहावीको सहिद भएको घोषणा गर्छौं। उनी आफ्ना धेरै सहयोगीहरूसहित इजरायली आक्रमणमा मारिएका छन्।”घाइते अधिकारीहरूको अस्पतालमा उपचार भइरहेको पनि वक्तव्यमा उल्लेख छ। यसअघि इजरायलले सानामा इरान समर्थित हुथी नेताहरूलाई—जसमध्ये रक्षा मन्त्री, चीफ अफ स्टाफ र अन्य अधिकारीहरू पनि पर्ने—निशाना बनाएको बताएको थियो। तर रक्षा मन्त्री मारिएका मध्ये परेका छन् वा छैनन् भन्नेबारे प्रष्ट भएको छैन।

अल-रहावी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए। तर वास्तविक सत्ता भने उनका उप-प्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा थियो। शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको कार्यभार दिइएको छ।

Please Login to comment in the post!

you may also like