• Sunday, October 19, 2025

नेकपा एमालेको सचिवालय बैठक:नेतृत्वमाथि प्रश्न, ओलीलाई दबाब


काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बिहान ३ बजेदेखि साँझ साढे ७ बजेसम्म बसेर तीनवटा महत्वपूर्ण निर्णय गरेको छ। महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्यअनुसार दुई निर्णय जेनजी आन्दोलनसँग सम्बन्धित छन् भने तेस्रो निर्णय दशैंपछि केन्द्रीय कमिटी बैठक बोलाउने सम्बन्धमा छ।सचिवालय बैठक चलिरहँदा जेनजी आन्दोलन दमनको छानबिन गर्न गठित आयोगले अध्यक्ष ओलीसहित नेताहरूको पासपोर्ट रोक्का गर्न र उपत्यका बाहिर निस्कन रोक लगाउन सिफारिस गरेको छ। बैठकले यो सिफारिसप्रति कडा आपत्ति जनाएको छ। साथै, जेनजी आन्दोलनका क्रममा भएको विध्वंसको छानबिन प्रहरीलाई नदिने निर्णयप्रति पनि एमालेले असहमति व्यक्त गरेको छ।

तेस्रो निर्णयअनुसार, दशैंलगत्तै १९ र २० असोजमा सचिवालय बैठक र २७ र २८ असोजमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि दिएको जानकारीअनुसार, २१ फागुनमा तोकिएको चुनावप्रति एमालेमा संशय रहेको छ। उनले सरकारले प्रतिशोध साँध्ने दिशातिर अघि बढेको निष्कर्ष पनि बैठकले निकालेको बताए।

बैठक स्रोतका अनुसार, जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक कोर्स बदलिएको निष्कर्ष निकाल्दै एमालेले पार्टीको आगामी रणनीतिमा गम्भीर छलफल गरेको छ। “सत्ता फेरिएको छ, संविधान अप्ठ्यारोमा परेको छ। यो अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने मूल एजेण्डा थियो,” एक पदाधिकारीले भने।

बैठकमा नेताहरूले पार्टीको कमजोरी र त्रुटिहरूको गम्भीर समीक्षा गरे। “हामी कहाँ चुकेका थियौं? त्रुटिहरू कसरी सच्याउने र कसरी पुनर्गठन गर्ने भन्नेमा छलफल केन्द्रित रह्यो,” ती पदाधिकारीले थपे।बैठकमा लगभग सबै पदाधिकारीले यथास्थितिमा पार्टी चल्न नसक्ने निष्कर्ष निकाले। उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईले गम्भीर समीक्षा र पुनर्गठनको आवश्यकता जोड दिए।विशेषगरी, बादलले ओलीको कार्यनीति असफल भएको भन्दै नेतृत्व परिवर्तनको प्रस्ताव राखे। “कार्यनीति फेल भएपछि नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ। हाम्रो अभ्यास पनि यही हो,” बादलको भनाइ थियो। यस्तै, पृथ्वीसुब्बा गुरुङले “जनतासामु मुख देखाउन नसक्ने अवस्था आएको” भन्दै गल्ती स्वीकारेर अगाडि बढ्नुपर्ने तर्क राखे।उपमहासचिव प्रदीप ज्ञवालीले आगामी केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरे। सचिव गोकर्ण बिष्टले जेनजी विद्रोह पार्टी नेतृत्वको कमजोरीकै कारण भएको ठहर गरे। “जेनजी प्रदर्शन भइरहँदा गृहमन्त्री समितिको बैठकमा बस्नुले परिस्थितिको गम्भीरता नबुझिएको देखिन्छ,” उनले भने।सचिव योगेश भट्टराईले २२ भदौ अघि र पछिको परिस्थितिलाई फरक ढंगले हेर्नुपर्ने विश्लेषण गरे। “कार्यशैलीमा समस्या भयो, परिस्थिति बुझ्न सकिएन। अब खुला छलफल गरेर निकास खोज्नुपर्छ,” उनको भनाइ थियो।सचिव लेखराज भट्टले कार्यकर्तामा निराशा बढेको र जनतासँग पार्टीको दूरी बढेको रिपोर्टिङ गरे। “जनता किन टाढिए? कार्यकर्तामा निराशा किन छायो? यसबारे गम्भीर छलफल जरुरी छ,” उनले भने। यस्तै, सचिव छविलाल विश्वकर्माले सरकारमा रहँदा नै पार्टीले ठूलो क्षति बेहोरेको भन्दै यथास्थितिमा चल्न नसकिने बताए।बैठकमा ओलीले आफ्नो कार्यकालमा विकास भएको, भ्रष्टाचार रोकेको र षड्यन्त्रका कारण सरकार ढलेको जिकिर गरे। “मसँग सरकार थियो, तर राज्य सत्ता थिएन,” उनले भने। तर, पार्टीको आगामी कोर्सबारे उनले ठोस प्रस्ताव राखेनन्। महासचिव शंकर पोखरेलले कार्यकर्तामा उत्साह नघटेको दाबी गरे पनि अन्य पदाधिकारीले त्यसलाई खण्डन गरे।बैठकमा ओलीलाई तत्काल अध्यक्षबाट राजीनामा गराउने प्रस्ताव कसैले नउठाए पनि नेतृत्वमाथि दबाब भने बढेको छ।

“यथास्थितिमा पार्टी चल्दैन, पुनर्गठन जरुरी छ भन्ने कुरा जोडतोडले उठ्यो,” एक उच्च स्रोतले भन्यो। “ओलीले यो भावना बुझेर निर्णय लिनुहुन्छ कि अर्को खेलमा लाग्नुहुन्छ, त्यो हेर्न बाँकी छ।”सचिव पद्या अर्याल बैठकमा अनुपस्थित थिइन्। उपाध्यक्ष गुरुप्रसाद बराल र सचिव रघुबीर महासेठले ठोस कुरा राखेनन्, भने उपमहासचिव विष्णु रिमाल बैठकभर मौन रहे।जेनजी आन्दोलनपछि एमालेले आफ्नो रणनीति र नेतृत्वको समीक्षा गर्ने दिशामा अघि बढेको संकेत यो बैठकले दिएको छ। दशैंपछिको सचिवालय र केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी कोर्स र नेतृत्वको विषयमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like