• Sunday, October 19, 2025

दशैंको सातौं दिन : फूलपाती भित्राइँदै, दशैंको रौनक बढ्यो


काठमाडौं - नेपालीहरूको महान् चाड दशैंको सातौं दिन आज देशभर घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ। आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपत्रिका अर्थात् फूलपाती भित्राउने परम्परा रहेको छ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गा भवानीको आह्वान गरी पूजा–आराधना गरिएको दशैंघर वा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राइन्छ। नवपत्रिकाको नामले चिनिने फूलपाती नौवटी देवीको प्रतीक मानिन्छ।धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार, “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ। यी देवीहरू नवदुर्गाका सहायक हुन्।” नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने जनाएको छ।काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने चलन छ।जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती भित्राइन्छ। यस वर्ष हनुमानढोकामा अपराह्न फूलपाती भित्राइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर गएको थियो। जीवनपुरबाट स्वयम्भू हुँदै फूलपाती ल्याइने छ, जहाँ स्वयम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिकामा समावेश गरिन्छ। जमलमा हनुमानढोकाबाट गएको समूहले फूलपातीको स्वागत गरी दशैंघरमा भित्र्याउने कार्यक्रम छ।

आजदेखि दशैंको सामाजिक चहलपहल देशभर तीव्र बनेको छ। सरकारी कार्यालयहरू बिदा हुने भएकाले विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरू सपरिवार दुर्गा भवानीको प्रसादस्वरूप टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम बढेको छ। काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ भने सधैं व्यस्त रहने सडकहरूमा गाडीको चाप पातलिंदै गएको छ।गाउँहरूमा दोबाटो, चौतारो र चौबाटामा लिङ्गेपिङ र रोटेपिङ हालिन्छ, जसले दशैंको रौनक थप्छ। चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्पराले पनि गाउँघरमा उत्साह थप्ने गर्छ।दशैंको यो पावन अवसरमा देशभर सांस्कृतिक र धार्मिक उत्सवको माहोल छाएको छ।

Please Login to comment in the post!

you may also like