काठमाडौ। इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको कडा प्रतिस्पर्धाको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको छ। खेलको २९औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुआतमै ४८औँ मिनेटमा निको गोन्जालेजले अर्को गोल थपे भने ६३औँ मिनेटमा जेरेमी डोकुले तेस्रो गोल गरेर सिटीलाई सहज जित दिलाए।
यो जितसँगै म्यानचेस्टर सिटी २२ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ भने लिभरपुल १८ अंकमा सीमित रहेर आठौं स्थानमा झरेको छ।
सोही दिन भएका अन्य खेलहरूमा न्युकास्टल युनाइटेड र लिड्स युनाइटेड दुवै ३-१ ले पराजित भएका छन्। ब्रेन्टफोर्डले न्युकास्टललाई तथा नटिङ्हम फरेस्टले लिड्सलाई हराएको हो। यस्तै, एस्टन भिल्लाले बर्नमाउथलाई ४-० ले तथा चेल्सीले उल्भ्सलाई ३-० ले पराजित गरेको छ।