• Tuesday, March 3, 2026

ट्रम्प–सी जिनपिङ भेटले व्यापारमा आंशिक राहत दिन सक्छ, तर समस्या पूर्ण समाधान हुँदैन: अमेरिकी विज्ञ



बेइजिङ / वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी अप्रिलमा चीन भ्रमणले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार तनाव केही हदसम्म कम गर्न सक्ने भए पनि हालसम्म भएको क्षतिलाई पूर्ण रूपमा उल्ट्याउन नसक्ने एक अमेरिकी चीन–व्यापार विज्ञले बताएका छन्।चीनमा लामो समय काम गरिसकेका अमेरिकी व्यवसाय विशेषज्ञ केर गिब्सका अनुसार अप्रिलमा हुने ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटले व्यापार वार्तामा केही प्रगति ल्याउन सक्छ, तर ठोस ‘ब्रेकथ्रु’ हुने सम्भावना कम छ। “अहिले रहेको कमजोर व्यापारिक समझदारीलाई जोगाउने प्रयास मात्र हुनेछ,” गिब्सले इमेलमार्फत बताएका छन्।सन् 2016–2018 मा सांघाईस्थित अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष र 2019–2021 मा त्यसका प्रेसिडेन्ट रहेका गिब्स हाल क्यालिफोर्नियामा बसोबास गर्छन्। उनी सान फ्रान्सिस्को विश्वविद्यालयमा अध्यापन गर्छन् र वित्तीय परामर्श कम्पनी Foresight LLC का साझेदारसमेत हुन्।

उनका अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्षमै चिनियाँ वस्तुहरूमा अमेरिकी भन्सार शुल्क (ट्यारिफ) ऐतिहासिक रूपमा उच्च स्तरमा पुगेको छ। “डब्ल्यूटीओमा चीन प्रवेश गरेपछि वर्षौँसम्म ट्यारिफ एकल अंकमा थियो, तर अहिले क्षेत्रअनुसार औसत ५० प्रतिशतसम्म पुगेको छ,” उनले भने।गिब्सका अनुसार १०–१५ प्रतिशत ट्यारिफ व्यवसायले सहन सक्छ, तर २० प्रतिशतभन्दा माथि पुगेपछि बजार विकृत हुन्छ। “अहिलेको स्तरले आपूर्ति श्रृंखला बदलिँदै छ र व्यवसायमा गम्भीर अवरोध आएको छ,” उनले बताए।चीनमा श्रम लागत बढ्दै जाँदा उत्पादन भियतनाम र बंगलादेशजस्ता देशतर्फ सर्दै गएको भए पनि अमेरिकी बजार अझै पनि खेलौना, इलेक्ट्रोनिक्स, अटो पार्ट्स र औजारका लागि चीनमा निर्भर रहेको गिब्सले उल्लेख गरे।

उनका अनुसार ट्रम्प प्रशासन कहिले उत्पादन अमेरिका फर्काउने लक्ष्यमा देखिन्छ भने कहिले राम्रो व्यापार सम्झौता खोजिरहेको देखिन्छ। “यी दुई लक्ष्य फरक हुन् र फरक रणनीति चाहिन्छ,” उनले स्पष्ट पारे।उच्च ट्यारिफका कारण अमेरिकी खुद्रा व्यवसायहरू गम्भीर समस्यामा परेको र केही ठूला रिटेल कम्पनी दिवालिया भएको गिब्सको दाबी छ। “कतिपय अवस्थामा हजारौँ अमेरिकी रोजगारी गुमेका छन्,” उनले भने।अर्कोतर्फ, चीनले पनि अमेरिकी प्रविधि र कच्चा पदार्थमा निर्भरता घटाउने रणनीति अपनाइरहेको गिब्सले बताए। “नयाँ उत्पादनहरूमा अमेरिकी इनपुट हटाइँदैछ, जसले दुवै देशमा लागत बढाउनेछ र ‘डिकप्लिङ’ अझ तीव्र बनाउनेछ,” उनले चेतावनी दिए।राजनीतिक रूपमा पनि अप्रिलको भेट महत्त्वपूर्ण हुने गिब्सको भनाइ छ। “चीनका लागि ताइवान सबैभन्दा संवेदनशील विषय हुनेछ,” उनले भने। साथै, ल्याटिन अमेरिका, भेनेजुएला, इरान, रूस र उत्तर कोरियासँगको सम्बन्धले पनि वार्तामा प्रभाव पार्ने उनले बताए।

Please Login to comment in the post!

you may also like