काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नामक संगठन औपचारिक रूपमा घोषणा गरिएको छ । संयोजक बमले शुक्रबार सामाजिक सञ्जालमार्फत २१ पृष्ठको दस्तावेजसहित मोर्चाको घोषणा गर्दै जेनजी आन्दोलनलाई संस्थागत र दीर्घकालीन राजनीतिक स्वरूप दिने उद्देश्यसहित यो फ्रन्ट गठन गरिएको जनाएकी हुन् । फ्रन्टको नेतृत्वमा बमसँगै युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी र पूजा मेहता सदस्यका रूपमा रहेका छन् । संयोजक बमले जारी गरेको विज्ञप्तिमा जेनजी विद्रोहका एजेन्डा र विभिन्न समूहहरूलाई एकीकृत गर्ने मुख्य लक्ष्य रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “यो फ्रन्ट राजनीतिक विचार मिल्ने सबै जेनजी समूहलाई एकताबद्ध गर्ने प्रारम्भिक संरचना हो । हामी संविधान र व्यवस्थाभित्रै सुधारका लागि संगठित रूपमा अघि बढ्नेछौं ।”
फ्रन्टले काठमाडौंसहित देशका अन्य भागमा जेनजी आन्दोलनमा संलग्न सबै युवालाई संगठनमा जोडिन आह्वान गरेको छ । संगठन समितिका सदस्य युजन राजभण्डारीका अनुसार, फ्रन्टले संघीय ढाँचामा काम गर्नेछ र चाँडै प्रदेश तथा जिल्ला समितिहरू पनि घोषणा गरिनेछ ।