• Tuesday, March 3, 2026

प्रधानमन्त्री सुशीला कार्की : सत्ता होइन, जिम्मेवारीको बाटोमा


प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवासमा शुक्रबार साँझको दृश्यले सम्पादकहरूलाई अचम्ममा पार्‍यो। सरकारी भवनका मूल बैठक कक्षमा झुण्ड्याइने राष्ट्रपतिको तस्वीर र सरकारी छाप चिन्ह थिएनन्। सम्पादकहरूले प्रश्न उठाउँदामात्रै प्रधानमन्त्रीलाई त्यो कुरा थाहा भयो। मुस्कुराउँदै उनले भनिन्, “अरू कोठामा राष्ट्रपतिज्यूको तस्वीर छ, यहाँ रहेनछ।”ढाकाको साधारण सारी, ब्लाउज र चप्पलमा सजिएकी कार्कीले करिब तीन घण्टा सम्पादकहरूसँग संवाद गरिन्। उनी बढी सुन्ने र कम बोल्ने स्वभावकी देखिइन्। मिडियाको आलोचना स्वाभाविक हो भन्दै उनले सहज रूपमा भनिन्, “दुईचार गाली नगरी मिडिया चल्दैन, त्यसले मलाई दुःख दिँदैन।”२७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी कार्कीको एक मात्र म्यान्डेट छ— आगामी २१ फागुनमा हुने निर्वाचन सम्पन्न गराउने। उनले स्पष्ट रूपमा भनिन्, “चुनावबाहेक मेरो ध्यान कतै छैन। निर्वाचन आयोग, सुरक्षा निकाय र सम्बन्धित मन्त्रालयहरूसँग नियमित समन्वय भइरहेको छ।”

प्रधानमन्त्री बन्ने चाहना आफूमा कहिल्यै नभएको उनले प्रष्ट पारिन्। “मलाई प्रधानमन्त्री बन्ने मन थिएन। मेरो बुढा दुर्गाजीले पनि ‘नबन’ भन्नुभएको थियो,” उनले स्मरण गरिन्। तर राष्ट्रपति पौडेलले आग्रह गर्दै नमान्दा मिडियामार्फत ‘राष्ट्रघाती’ भन्दिने चेतावनी दिएपछि आफू बाध्य भएर जिम्मेवारी लिनु परेको उनले खुलाइन्। “त्यसपछि त बन्नै पर्‍यो,” उनले हाँस्दै भनिन्।राजनीतिमा प्रवेशको आफ्नो अप्रत्याशित यात्राबारे उनले भावुक हुँदै भनिन्, “जेनजी आन्दोलनका दिनमा एक आफन्त गोली लागेर घाइते भएपछि म अस्पताल पुगेकी थिएँ। त्यहाँको भयावह दृश्य र युवाहरूको पीडाले मलाई गहिरो असर गर्‍यो। त्यही क्षण म राजनीतिभन्दा पहिला मानवीय रूपमा आक्रोशित भएँ— सायद यही कारणले आज म यो भूमिकामा छु।”

जेनजी आन्दोलनपछि ती विद्रोहीहरूसँग प्रत्यक्ष संवाद नभए पनि कार्की उनीहरूको भावना र उद्देश्यप्रति सम्मान प्रकट गर्छिन्। उनले तीन ठूला दलका नेताहरू— केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालसँग भेट्ने इच्छा नराख्ने बताइन्। “तीनै जना लामो समय सत्तामा बसे, अब युवाले नयाँ विकल्प खोज्ने बेला आएको छ,” उनको भनाइ थियो।उनका अनुसार, जेनजीहरू अब भावनात्मक आन्दोलनकारी मात्र छैनन्; उनीहरू संविधान र व्यवस्थाभित्र सुधार खोज्दै चुनावमा भाग लिने तयारीमा छन्। “सुरुमा उनीहरू असन्तुष्ट थिए, अहिले बुझ्ने भएका छन्— प्रणालीभित्रै परिवर्तन सम्भव छ। यही सोचले मलाई पनि चुनाव सफल गराउने आत्मबल दिएको छ,” उनले भनिन्।प्रधानमन्त्री कार्कीले काठमाडौंका मेयर बालेन शाहसँग निकट सम्बन्ध रहेको स्वीकार गरिन्। “म उसलाई छोरो भन्छु, ऊ मलाई दिदी भन्छ,” उनले हाँस्दै भनिन्। बालेनसँग दुईपटक प्रत्यक्ष भेट र केही पटक फोनमा कुरा भएको बताउँदै उनले थपिन्, “उसले बोलेको सुन्नुपर्छ, तर हामीले भनेको चाहिँ कहिलेकाहीँ सुन्दैन।”गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिएको भन्ने मिडिया हल्ला असत्य भएको स्पष्ट पार्दै उनले भनिन्, “बालेनले राजीनामा मागेका छैनन्, त्यो गलत प्रचार हो।”उनले आफू र आफ्ना मन्त्रीहरू आगामी चुनावमा नलड्ने घोषणा पनि गरिन्। “यो सरकारको उद्देश्य सत्ता होइन, निष्पक्ष चुनाव सम्पन्न गराउनु हो,” उनले भनिन्। सो बैठकमा सहभागी मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ, ओमप्रकाश अर्याल, अनिल सिन्हा र जगदीश खरेल थिए। कार्कीले हाँस्दै सोधिन्, “रामेश्वरजी लड्नुहुन्छ कि? कुलमानजी?” जसमा खनालले तुरुन्त ‘हैन’ भने, कुलमान मुस्कुराएर मौन रहे।

ओली सरकारले नियुक्त गरेका ११ जना राजदूत फिर्ता बोलाउने निर्णयबारे पनि उनले स्पष्टिकरण दिइन्। उनका अनुसार, “केही राजदूतहरूले विदेशी मुलुकमा यो सरकार टिक्दैन भनेर ब्रिफिङ गरे, केहीमा आर्थिक अनियमितता थियो, अनि केही कमजोर प्रदर्शनका कारण फिर्ता गर्नुपर्‍यो।” तर भारतसहित तीन महिला राजदूतको कामप्रति उनले प्रशंसा जनाइन् र ‘सन्तोषजनक कार्यसम्पादन’का कारण उनीहरूलाई नबोलाइएको बताइन्।

सरकार विदेशी प्रभावमा चलेको भन्ने आलोचना अस्वीकार गर्दै उनले भनिन्, “मैले कुनै विदेशी राजदूतलाई बालुवाटारमा बोलाएर भेटेकी छैन। जर्मनीका राजदूतसँग मात्रै पासपोर्ट समस्याबारे सहयोग मागेकी हुँ।” उनका अनुसार अहिले नेपालमा करिब १ लाख ७० हजार मात्र पासपोर्ट बाँकी छन् र दैनिक कम्तीमा ६ हजार तयार भइरहेका छन्। “यदि पासपोर्ट सकिए, वैदेशिक रोजगारीमा जानेलाई ठूलो समस्या आउँछ,” उनले चेतावनी दिइन्।राजनीतिक समीकरणबारे विश्लेषण गर्दै कार्कीले झापामा परम्परागत नेताहरूको प्रभाव घट्दै गएको र दुर्गा प्रसाईँजस्ता नयाँ पात्रहरू उदाउन सक्ने सम्भावना रहेको बताइन्। “उनको समूह बलियो देखिन्छ, चुनाव जित्न पनि सक्छ,” उनले भनिन्। तर हिंसा र अराजकताप्रति कडा चेतावनी दिँदै भनिन्, “हातहतियारसहित आन्दोलन भयो भने मुलुकी अपराध संहिता अनुसार कडा कारबाही हुनेछ।” उनले जेनजी आन्दोलनको रूपान्तरणप्रति सन्तोष प्रकट गरिन्— “सुरुमा उनीहरू भावनात्मक र असंलग्न थिए, अहिले संविधान र कानुनी प्रक्रियाभित्रै सुधार खोज्दैछन्। यो सकारात्मक परिवर्तन हो। अब उनीहरू प्रणालीभित्रै चुनावमा भाग लिने तयारीमा छन्, त्यसैले म चुनाव सफल पार्न प्रतिबद्ध छु।”

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको यो सरकार सत्ताको लोभमा होइन, संक्रमणको संवेदनशील चरणमा देशलाई स्थायित्व र निष्पक्ष निर्वाचनतर्फ लैजाने लक्ष्यमा केन्द्रित देखिन्छ। उनले अन्त्यमा भनिन्, “मलाई प्रधानमन्त्री बन्ने रहर थिएन, तर यो जिम्मेवारी पूरा नगरी बिदा लिन सक्दिनँ।”

Please Login to comment in the post!

you may also like