• Tuesday, March 3, 2026

नेकपा एकीकृत समाजवादी फुट्यो, माओवादीसँगको एकता प्रस्तावमै चर्कियो विवाद


चार वर्षअघि नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णयपछि आन्तरिक विवाद चर्किँदै पार्टी फुटेको छ। अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, विप्लव समूहबाट फुटेका र अन्य साना दलहरुसँग वाम एकताको दिशा लिँदै अघि बढ्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाललगायत नेताहरुले तीव्र आपत्ति जनाएका छन्।

धुम्बाराहीमा तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा एकता प्रस्तावलाई लिएर तीव्र मतभेद देखिएको थियो। पदाधिकारीबाहेक १२३ सदस्यले बोलेको उक्त बैठकमा अधिकांशले एकताको समर्थन गरे पनि खनाल, बस्नेत र भूसालले “यथास्थितिमा एकता सम्भव छैन” भन्ने अडान लिएका थिए। बैठकमा वरिष्ठ नेता वेदुराम भुसालले माओवादी केन्द्र, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, चरन पुन, प्रेमबहादुर सिंह, राजु कार्की र सुभाषराज काफ्ले समूहसँग एकता गर्ने गृहकार्यबारे जानकारी दिएका थिए।अध्यक्ष माधव नेपालले बहुमतको आधारमा एकता अघि बढाउने निर्णय गरेका थिए। उनले यो निर्णय ‘सुटुक्क वा व्यक्तिगत रूपमा होइन, सचिवालय र स्थायी कमिटीको निर्णय अनुसार वार्ता टोलीमार्फत अघि बढाइएको प्रक्रिया’ भएको स्पष्ट पारे। तर खनाल पक्षले भने यसलाई जबर्जस्तीको निर्णय भन्दै अस्वीकार गरेको छ। बैठकमा खनालले “हाहा हुहुले हुँदैन, मैले ३० बुँदाको दस्तावेज रोकेको छु” भनेर आपत्ति जनाएका थिए, तर त्यसपछि उनको माइक काटिएको बताइन्छ।खनालले बैठकपछि पार्टी विभाजन भएको घोषणा गर्दै, “एमालेसँगको विद्रोहको औचित्य पुष्टि नगर्दै माओवादीमा मिसाउने जबर्जस्ती निर्णय गरियो, पार्टीलाई बिसर्जन गरियो,” भनेका छन्। उनले अब नयाँ पार्टी पुनर्गठनका लागि छलफल सुरु गर्ने र कानुनी प्रक्रिया अघि बढाउने जनाएका छन्।पार्टीभित्रको यो मतभेद भने नयाँ होइन। पार्टी गठनदेखि नै माधव नेपाल र झलनाथ खनालबीच संगठनात्मक, सैद्धान्तिक र राजनीतिक मतभेद विद्यमान थियो। खनाल पक्ष ‘समाजवादी क्रान्ति’लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्नेमा अडिग रहँदै आएको थियो भने माधव नेपाल पक्ष ‘जनताको बहुदलीय जनवाद (जबज)’लाई निरन्तरता दिनुपर्ने पक्षमा थियो। यही विवादका कारण पार्टीले स्पष्ट सैद्धान्तिक पहिचान बनाउन सकेको थिएन।

माधव नेपाल माओवादी र कांग्रेससँग सहकार्यमा खुला देखिँदै आएका थिए भने खनाल पक्षले वाम शक्तिहरूबीच सहकार्य गर्नुपर्ने अडान लिँदै आएको थियो। संगठनमा पनि समानान्तर कमिटी र नेतृत्व देखिँदै आएको थियो। युवासंघ र विद्यार्थी संगठनमा समानान्तर संरचना बनेपछि विवाद झन् गहिरिँदै गएको थियो।यसबीचमा महासचिव भूसालले पनि गत वर्षको महाधिवेशनमा नेतृत्वमा दाबी गरेका थिए। त्यसपछि खनाल–नेपाल सम्बन्ध झनै चिसिँदै गएको थियो। पछिल्ला महिनामा माधव नेपालले पार्टीका युवा र विद्यार्थी नेताहरूलाई हटाउने निर्णय गरेपछि खनालले सार्वजनिक रूपमा चेतावनीसमेत दिएका थिए।अब माओवादी केन्द्रसँग एकता गर्ने निर्णयपछि पार्टी फेरि दुई धारमा विभाजित भएको छ। खनाल, घनेन्द्र बस्नेत, घनश्याम भूसाल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, वंशीधर मिश्र, अमरबहादुर थापा, किसान श्रेष्ठ, आरती लामा, हिरेन्द्र शाही, अर्जुन राई लगायतका नेताहरूले नयाँ पार्टी पुनर्गठनको तयारी थालेका छन्।यद्यपि उपाध्यक्ष जयन्ती राईले भने वाम एकताको प्रक्रियालाई समर्थन जनाउँदै, “यो वाम एकताको जग हो, भोलि एमालेसम्म पुग्ने बाटो यहीँबाट सुरु हुन्छ,” भन्दै अन्तिम क्षणसम्म पनि पार्टी विभाजन नगरियोस् भन्ने आग्रह गरेकी छन्।यसरी, नेकपा (एकीकृत समाजवादी) भित्र लामो समयदेखि चल्दै आएको सैद्धान्तिक र शक्ति संघर्ष अन्ततः विभाजनमा परिणत भएको छ। अब एक पक्ष माधव नेपाल नेतृत्वमा माओवादी केन्द्रतर्फ अघि बढ्ने तयारीमा छ भने अर्को पक्ष झलनाथ खनाल र घनश्याम भूसालको नेतृत्वमा नयाँ समाजवादी संरचना बनाउन जुटेको छ।

Please Login to comment in the post!

you may also like