• Tuesday, March 3, 2026

गणेशमान सिंहको १११औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदै


काठमाडौं —नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर एवं राष्ट्रिय नेता गणेशमान सिंहको १११औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग, इमानदारी र साहसका प्रतीकका रूपमा चिनिनुभएका सिंहको योगदानको सम्झनामा नेपाली कांग्रेस, भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाहरूले देशभर श्रद्धाञ्जली कार्यक्रम, र्‍याली र सम्मानसभाहरू आयोजना गरेका छन् ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा खानदानी परिवारमा जन्मिएका गणेशमान सिंह नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्का सदस्य रहँदै राणा शासनविरुद्धको संघर्षमा सक्रिय भएका थिए । विसं १९९७ सालमा स्थापित उक्त दलमार्फत उनले जनतामा राजनीतिक सचेतना फैलाउने अभियान थालेका थिए । राणा शासनविरुद्धको अभियानमा संलग्न भएपछि उनलाई अन्य नेताहरूसँगै तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ साल अघि उनले भद्रगोल जेल फोडी भाग्न सफल हुँदै भारत पुगेर विपी कोइरालासँग नजिक सम्बन्ध स्थापित गरेका थिए ।भारतमा रहँदै उनले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेले । यसै संगठनले पछि नेपाली कांग्रेसको रूप लिँदै नेपालको प्रजातान्त्रिक आन्दोलनको मेरुदण्ड बन्यो । विसं २००७ सालको प्रजातन्त्र स्थापनाका लागि भएको क्रान्तिमा वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्षको नेतृत्व गर्दै सिंहले देशमा प्रजातन्त्र ल्याउने अभियानमा अग्रणी भूमिका निर्वाह गरे ।विपी कोइरालाका निष्ठावान् अनुयायीका रूपमा रहेका गणेशमान नेपाली कांग्रेसलाई जनप्रिय बनाउन निरन्तर सक्रिय रहे । विसं २०१५ को पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा उनी वरिष्ठ मन्त्री बने । तर, विसं २०१७ मा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि उनलाई सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा आठ वर्षसम्म कैद गरिएको थियो ।विसं २०२५ मा विपीसँगै जेलमुक्त भएपछि उनले प्रवासमा रही संगठन सुदृढीकरणमा लागे । विसं २०३३ मा विपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किए । फर्किएको केही समयमै उनलाई पुनः गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा राखियो । पछि विशेष अदालतले मृत्युदण्डको माग गरिएका आठ मुद्दाबाट उनलाई सफाइ दिएको थियो ।विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा पनि गणेशमानले प्रभावशाली नेतृत्व प्रदान गरे । विपी कोइरालाको निधनपछि उनी कांग्रेसका सर्वोच्च नेताका रूपमा उभिए र विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं २०४६ को ऐतिहासिक जनआन्दोलनमा उनले कम्युनिष्ट दलहरूसँग सहकार्य गर्दै पञ्चायती शासन विरुद्धको जनआन्दोलन सञ्चालन गरे । उक्त आन्दोलनका सर्वोच्च कमाण्डरको रूपमा उनले अपार जनसमर्थन पाए ।

जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले त्याग र नेतृत्वको अद्वितीय उदाहरण प्रस्तुत गर्दै आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारे । यस निर्णयले उनलाई ‘त्यागी नेता’का रूपमा नेपाली जनमानसमा स्थापित गर्‍यो ।विसं २०५४ असोज २ गते उनको निधन भएको थियो । उनको योगदानको कदर गर्दै विसं २०६१ भदौ २४ गते सुन्दरीजल बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको हो ।आजको अवसरमा नेपाली कांग्रेसले देशभरका जिल्ला कार्य समितिहरूलाई स्मरण सभा, श्रद्धाञ्जली र नेतृत्व विकासका कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ । काठमाडौंमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित मुख्य कार्यक्रममा शीर्ष नेता, कार्यकर्ताहरू र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

Please Login to comment in the post!

you may also like