काठमाडौँ — युरोपेली युनियन उड्डयन सुरक्षा एजेन्सी ले जारी गरेको नयाँ निर्देशनअनुसार आज (२९ नोभेम्बर २०२५) देखि एयरबसको ए-३१८, ए-३१९, ए-३२० र ए-३२१ सिरिजका प्रभावित सबै विमानहरूमा अनिवार्य संशोधन नभएसम्म यात्रु बोकेर उड्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। युरोपेली सुरक्षा एजेन्सीको यो निर्देशन विश्वव्यापी रूपमा लागू हुन्छ। अर्थात्, संशोधन नभएका यी विमानहरूले अबदेखि यात्रु लिएर कुनै पनि व्यावसायिक उडान गर्न पाउने छैनन्। तर, “फेरी फ्लाइट” (यात्रुबिना मर्मत केन्द्रसम्म उडान) भने गर्न पाइने छ।युरोपेली सुरक्षा एजेन्सीका अनुसार यो कदम रडर अल्टिमिटरमा देखिएको गम्भीर प्राविधिक खराबीका कारण उठाउनुपरेको हो। संशोधन नगरी यात्रु बोकेर उडेमा सुरक्षा जोखिम अत्यधिक हुने ठहर गरिएको छ।नेपालमा पनि इन्डिगो, एयर इन्डिया, भियतजेट, फ्लाइदुबई, थाई एयरएशिया लगायतका धेरै एयरलाइन्सले यिनै सिरिजका विमान उडाउँछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक दर्जनौं उडान प्रभावित हुने निश्चित भएको छ। युरोपेली सुरक्षा एजेन्सीको यो निर्देशनले विश्वभरका करिब ६,००० विमानलाई तत्काल ग्राउन्ड गर्ने वा मर्मत केन्द्र पठाउने अवस्था सिर्जना गरेको छ। परिणामस्वरूप आगामी दिनमा ठूलो संख्यामा उडान रद्द हुने, ढिला हुने र टिकट मूल्य बढ्ने निश्चित छ।