• Sunday, October 19, 2025

हरियो तरकारीको मूल्यवृद्धिले सर्वसाधारणको भान्छा महँगियो, उपभोक्ता मारमा


काठमाडौं – बजारमा हरियो तरकारीको मूल्य आकाशिएसँगै सर्वसाधारणको भान्छा महँगो बन्दै गएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार, गत वर्षको तुलनामा तरकारीको मूल्य २०० प्रतिशतसम्म बढेको छ। विशेषगरी भिण्डी र चिचिण्डोको मूल्यमा भएको उछालले उपभोक्तालाई प्रत्यक्ष मार परेको छ।

गत वर्ष कात्तिकमा प्रतिकिलो ४५ रुपैयाँमा बिक्री भएको भिण्डी अहिले १३५ रुपैयाँ पुगेको छ। यस्तै, चिचिण्डो २५ रुपैयाँबाट ७५ रुपैयाँ भएको छ, जुन २०० प्रतिशतको वृद्धि हो। ब्रोकाउलीको मूल्य ११६.६७ रुपैयाँबाट २५० रुपैयाँ पुगेर ११४.२८ प्रतिशतले बढेको छ। तोफू ११५ बाट १३५, जिरीको साग २७६.६७ बाट ३७६.६७, डल्ले च्याउ २९ प्रतिशत, तोरीको साग २५.६७ प्रतिशत र तितेकरेला २६.६७ प्रतिशतले महँगिएको छ। खुद्रा बजारमा सिमी २००–२५० रुपैयाँ, कन्ने च्याउ ३५० र भिण्डी २०० रुपैयाँसम्म पुगेको छ।कालीमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार, बर्खे तरकारीको सिजन सकिनु, हिउँदे तरकारीको आगमन कम हुनु र बाढी–पहिरोले बालीनालीमा पुर्‍याएको क्षतिले आपूर्तिमा कमी आएको छ। “मागको तुलनामा आपूर्ति कम हुँदा मूल्य स्वाभाविक रूपमा बढ्छ,” उनले भने। भारतबाट ताजा तरकारीको आयात पनि घटेकाले सिमी, बोडी र भिण्डीको मूल्य उच्च छ।कालीमाटी बजारमा दैनिक ७००–८०० मेट्रिक टन तरकारी आयात भइरहेको छ, जुन गत वर्षको ५०० मेट्रिक टनभन्दा बढी हो। तर, ताजा तरकारीको अभावले मूल्य नियन्त्रण हुन सकेको छैन। आलु र प्याजको मूल्य भने स्थिर छ, रातो आलुमा सामान्य वृद्धि देखिए पनि भारतीय आलु सस्तो छ।

हिउँदे तरकारीको आगमन नबढेसम्म मूल्य स्थिर हुने सम्भावना कम छ। मौसमी प्रभाव, प्राकृतिक प्रकोप र आपूर्तिको कमीजस्ता कारणले उपभोक्ताले चर्को मूल्य तिर्न बाध्य छन्। “हिउँदे सिजनको तरकारी आएपछि मात्र मूल्यमा राहत मिल्न सक्छ,” श्रेष्ठले भने। यसले सर्वसाधारणको दैनिकी थप कष्टकर बनेको छ।

Please Login to comment in the post!

you may also like