• Sunday, October 19, 2025

चाडबाड र बिपतमा हवाई भाडा : गरिबको पहुँचबाहिर,नियामकको प्रयास, तर नतिजा शून्य


काठमाडौँ – दसैँको रमझममा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना सबैको हुन्छ। तर, हवाई मार्गबाट यात्रा गर्ने सोचमा रहेका यात्रुका लागि यो चाहना महँगो सावित हुँदै आएको छ। हवाई टिकटको अभाव र चर्को भाडाले यात्रुहरूलाई दसैँको यात्रा कठिन बनाइरहेको छ। अधिकांश गन्तव्यका टिकट एक महिनाअघि नै बुक भइसक्ने र बाँकी टिकट पनि महँगो मूल्यमा मात्र उपलब्ध हुने अवस्थाले यात्रुहरू निराश छन्।काठमाडौँबाट धनगढीको हवाई भाडा १७ हजार रुपैयाँभन्दा माथि पुगेको छ भने काठमाडौँ–विराटनगरको टिकट ९,७०० रुपैयाँसम्म पर्छ। धनगढीकी निशा पाण्डेले महँगो मूल्यमा बल्लतल्ल टिकट पाए पनि फर्कने चिन्ताले सताएको बताइन्। बझाङका वसन्तराज जोशीले पनि विगतका वर्षजस्तै यसपटक पनि टिकट पाउन निकै सास्ती बेहोर्नुपर्‍यो। मोरङकी सङ्गीता सापकोटाले त हवाई टिकट नपाएपछि गाडीबाटै यात्रा गर्न बाध्य भएको गुनासो गरिन्। अनलाइन बुकिङ प्रणाली भए पनि चाडपर्वको समयमा टिकट पाउन असम्भवजस्तै छ, सहुलियत दरको टिकट त झन् परको कुरा।

हवाई भाडा महँगो भएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा कम्पनीहरूलाई भाडा सस्तो गर्न बारम्बार निर्देशन दिइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि दसैँमा यात्रुको चापलाई ध्यानमा राखी क्यान र वायुसेवा कम्पनीहरूसँग छलफल गरेको थियो। क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले धनगढीको अधिकतम भाडा १७,००० बाट १२,५०० मा झारेको दाबी गरे। तर, यात्रुहरूले सस्तो टिकट पाउन नसकेको गुनासो यथावत् छ।भूलका अनुसार, हवाई भाडा निर्धारण प्रणालीमा स्पष्टता आवश्यक छ। नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अनुसार भाडा तोक्ने अधिकार नेपाल सरकारसँग छ, जसको सिफारिस क्यानले गर्छ। क्यानले अनुगमन र कार्यान्वयनको जिम्मेवारी लिए पनि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाहीको व्यवस्था छ। यद्यपि, यो व्यवस्था प्रभावकारी रूपमा लागू भएको देखिँदैन।क्यानका अनुसार, आन्तरिक उडानमा नियमित र चार्टर्ड उडानका लागि भाडा तोकिन्छ। १९ सिटभन्दा साना जहाजमा एकल भाडा प्रणाली लागू हुन्छ, जस्तै काठमाडौँ–लुक्ला उडान। ठूला जहाज (जस्तै, एटीआर–७२) मा भने न्यूनतम र अधिकतम भाडा सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा तोक्छ। उदाहरणका लागि, काठमाडौँ–विराटनगरको भाडा ५,१०० देखि ९,७०० रुपैयाँसम्म छ। यो भन्दा कम वा बढी भाडा लिनु गैरकानुनी हो।हवाई भाडा निर्धारणमा चार कुरा मुख्य हुन्छन्: हवाई इन्धनको मूल्य, जहाजको प्रकृति, यात्रु सेवा शुल्क र १३ प्रतिशत कर। दक्षिण एसियामै नेपालमा हवाई इन्धन महँगो भएको र रुस–युक्रेन युद्धका कारण जहाजका पार्टपुर्जाको मूल्य बढेकोले भाडा महँगिएको वायुसेवा कम्पनीहरूको दाबी छ। साथै, काठमाडौँबाट एकतर्फी खाली सिट लिएर उडान गर्नुपर्ने बाध्यताले पनि सञ्चालन खर्च बढेको उनीहरू बताउँछन्।क्यानका सूचना अधिकारी भूलले दसैँजस्ता चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले उडान थप्न सम्भव नभएको बताए। हाल आन्तरिक उडानमा ३० सुगम र १० दुर्गम गन्तव्यमा जहाज सञ्चालन हुन्छन्, जसले दैनिक १०,००० यात्रु बोक्छन्। वार्षिक ४५ लाख आन्तरिक र ५० लाख अन्तरराष्ट्रिय यात्रुले हवाई सेवा प्रयोग गर्छन्। यस्तो अवस्थामा दुई महिनाका लागि मात्र जहाज थप्न सम्भव नहुने उनको भनाइ छ।वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले तोकिएको अधिकतम भाडाभन्दा बढी नलिएको दाबी गरे। तर, दसैँमा काठमाडौँबाट बाहिर जाने यात्रुको चाप अत्यधिक र फर्कने यात्रु कम भएकाले भाडा केही महँगो भएको उनले स्वीकारे। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार, हाल दैनिक ४५० भन्दा बढी उडान भइरहेका छन्, जसमा आन्तरिकतर्फ १६० र अन्तरराष्ट्रियतर्फ १२० हाराहारी छन्।

वायुसेवा कम्पनीहरूले इन्धन, विमानस्थल शुल्क र करमा सहुलियत पाएमा मात्र भाडा घटाउन सकिने बताएका छन्। क्यानका सूचना अधिकारी भूलले एकल भाडा प्रणाली लागू गर्ने वा इन्धन र करमा छुट दिने हो भने मात्र भाडा सस्तो हुने सुझाए। साथै, वायुयान कोष सञ्चालन गरी चाडपर्वमा वायुसेवा कम्पनीहरूलाई सहयोग गरेमा भाडा समायोजन गर्न सकिने उनको भनाइ छ।दसैँको समयमा हवाई टिकटको अभाव र चर्को भाडाले यात्रुहरू मारमा परेका छन्। नीतिगत सुधार, नियामकको प्रभावकारी अनुगमन र सहुलियतको व्यवस्था नभएसम्म यो समस्या बारम्बार दोहोरिने देखिन्छ। यात्रु र वायुसेवा कम्पनी दुवैलाई मर्कामा नपार्ने गरी हवाई भाडा व्यवस्थापन गर्न सरकार र नियामक निकायले ठोस कदम चाल्नु जरुरी छ।

Please Login to comment in the post!

you may also like