• Tuesday, March 3, 2026

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो लत्रिएका तार व्यवस्थापन अभियान


काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा लत्रिएका तारहरूको व्यवस्थापन अभियान सुरु गरेको छ। महानगरका सडक र गल्लीमा अव्यवस्थित रूपमा झुण्डिएका तारले पैदलयात्री र सवारी साधन दुवैका लागि जोखिम बढाएपछि यो अभियान थालिएको हो।महानगर प्रहरी बलका प्रहरी निरीक्षक रामेश्वर पौडेलका अनुसार, लत्रिएका तारका कारण सडकमा पैदलयात्री अल्झिने, तार सडकसम्म लत्रिँदा सवारीसाधनमा ठोक्किने वा दुर्घटना हुने समस्या बढ्दै गएकाले तत्काल व्यवस्थापन सुरु गरिएको हो।उनीका अनुसार, पहिलो चरणमा पुतलीसडक, थापाथली र बबरमहल क्षेत्रका तार हटाउने तथा व्यवस्थापन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ।प्रहरी निरीक्षक पौडेलले भने, “महानगरका विभिन्न ठाउँमा अव्यवस्थित तारका कारण दृश्य बदर हुनुका साथै सुरक्षाको जोखिम पनि बढेको छ। त्यसैले अब यी तारलाई चरणबद्ध रूपमा व्यवस्थित गरिँदैछ।”नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिका लागि जडान गरेको खम्बामा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूस्पेस टिभी नेटवर्क लगायतका कम्पनीहरूले आफ्नो तार टाँग्ने गरेका छन्। यस्ता तारहरू उचित व्यवस्थापन नहुँदा सडकमा अस्तव्यस्त देखिने र बारम्बार समस्या आउने गरेको छ।प्राधिकरणका अनुसार, ती कम्पनीहरूले खम्बा प्रयोगका लागि प्राधिकरणलाई शुल्क तिर्ने व्यवस्था भए पनि, तारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पूरा गर्नेतर्फ भने खास ध्यान दिएका छैनन्। यसकै कारण काठमाडौंका धेरै स्थानमा तारहरू झुण्डिएका, काटिएका वा सडकमा झरेका अवस्थामा देखिन्छन्।

महानगरपालिकाले अब आगामी चरणमा अन्य प्रमुख व्यापारिक क्षेत्रहरू—न्यूरोड, दरबारमार्ग, नयाँ बानेश्वर लगायत स्थानहरूमा पनि तार व्यवस्थापन अभियान विस्तार गर्ने तयारी गरेको छ।महानगरले विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग समन्वय गर्दै, सम्भव भएसम्म भूमिगत (underground) प्रणालीमार्फत तारहरू व्यवस्थित गर्ने दीर्घकालीन योजना पनि अघि सारेको जनाएको छ।

Please Login to comment in the post!

you may also like